www.tandavnews.com
Fact ~ In search of truth

क्वारेन्टिन बसेका भन्छन् : हिरासतबाट छुटेको झैँ भयो !

हेमन्त केसी
जाजरकोट, रासस ।

करिब २१ दिन हिँडेर जाजरकोट सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पसको क्वारेन्टिनमा शुक्रबार बसेका लोकेन्द्र सिंहमा खुशीको सीमा छैन । भारत हुँदै देशका विभिन्न ठाउँबाट कठिनपूर्ण यात्राका बीच शनिबार जाजरकोट पाइला टेकेका सिंहलाई अहिले घर पुगेझै भएको छ ।

हुन त उनको घर पूर्वी जाजरकोट अर्थात् सदरमुकामबाट २२ कोष टाढा रहेको छ । भारतीय हेपाहा व्यवहारबाट भारी पीडा खेपेको बताउने सिंहले भने , “यस्तै खालको आफ्नै भूमिमा क्वारेन्टिनमा बस्न पाएको भए जति दिन पनि बस्न सकिथ्यो ? उता भारतमा तल्लोस्तरको व्यवहार गर्दा आक्रोश पैदा भए पनि सहेर बस्नुपरेको थियो ।”

Batas

जब नेपालमा पाइला टेकियो, हाम्रो छाती गर्वले उँचो भएको थियो । भारतमा दुई महिनाअघि ६१ केजी तौल भएको बताउने सिंह अहिले ४१ केजीमा झरेको समेत बताउँछन् । पैसा हालेर पानी किन्न खोज्दासमेत नपाएको उनको गुनासो छ । भेरी ज्ञानोदय क्याम्पसमा उनीसँगै करिब १०० बढी सर्वसाधारण क्वारेन्टिनमा बसेका छन् ।

स्थानीय सरकारसँगको सहकार्यमा अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतको संयोजकत्वको टिमले अहिले क्वारेन्टिन निर्माणदेखि सबै समस्या हल गरिरहेको छ । क्वारेन्टिनमा बसेका अहिले आफ्नै भूमिमा पुगेको भन्दै परिवारसँग फोन सम्पर्क गरी कुनै चिन्ता नलिनसमेत आग्रह गरिरहेका छन् ।

अर्काको भूमिमा पीडाका साथ बसेको भन्दै बारेकोट गाउँपालिका–८ का रमेश विकले अब बाँच्ने ठाउँमा आएको बताए । उनले खुशीका आँसु झार्दै भने , “कम्तीमा एक दिन नजिकको क्षेत्रमा पुगिएको छ, हामीलाई उद्धार गरेर ल्याउने स्थानीय सरकार र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई धन्यावाद दिन चाहन्छु ।”

पहिले भारतीयहरुले नेपालीलाई खासै वास्ता नगरे पनि सीमा विवाद बढेसँगै निकै हेप्ने गरेको विकले बताए । कोरोना त्रासभन्दा भारतीयको हेपाहा प्रवृत्ति सबैभन्दा खतरा भएको नलगाड नगरपालिका–७ का लक्ष्य कामीले बताए । भारतको क्वारेन्टिन भनेको जेलजस्तै भएको उनको भनाइ छ । जाजरकोटको क्वारेन्टिन भनेको महलमा बसेझैँ भएको भन्दै उनले भने , “समय–समयमा जनप्रतिनिधि, पत्रकार, कर्मचारी र स्वास्थ्यकर्मी आएर के–कस्तो छ भनेर सोध्नुहुन्छ । हामीले पनि भएका समस्या भन्छौँ, एकापसमा पीर, मर्का साटासाट भएको छ ।”

भेरी ज्ञानोदय क्याम्पसमा कोठाको आकारअनुसारको व्यवस्थापन गरिएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिइन् । क्वारेन्टिनमा बसेका कसैलाई पनि केही समस्या हुन नदिने उनको भनाइ छ । उनले भनिन् , “हामीले क्वारेन्टिनमा बसेका नागरिकलाई घरपरिवारमा बसेझैँ गरेर व्यवस्थापन गर्न खोजिरहेका छौँ । जसका कारण उहाँहरुलाई कुनै पीडा नहोस् र रोगसँग लड्ने क्षमता बढोस् ।”

स्वास्थ्य सेवा कार्यालयको मातहतमा रहेको जाजरकोट अस्पतालको २०० मिटरको दूरीमा क्वारेन्टिन निर्माण गरी बाहिरबाट आएका सर्वसाधारणलाई राखिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । बिरामी हुँदा होस् वा अन्य केही समस्या भएमा छिटोछरितो कामकारवाही गर्न स्वास्थ्य संस्थाको नजिक राखिएको उनको भनाइ छ ।

प्रत्येक पालिकाबाट एक व्यवस्थापक र एक स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेका नागरिकको व्यवस्थापनका साथै स्वास्थ्य जाँचका लागि परिचालन गरिएको छ । त्रिभुवन मावि खलङ्गामा भेरी नगरपालिकाका र भेरी ज्ञानोदय क्याम्पसमा नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र कुशे गाउँपालिका स्थानीयवासीलाई राखिएको छ । ३०० भन्दा बढी मानिस आउने आँकलनका साथ यहाँ व्यवस्थापन गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक योग्य बस्नेतले बताए ।

क्वारेन्टिनको सुरक्षाका लागि नेपाली सेनालाई खटाएको छ । अन्य व्यवस्थापन सूचना सङ्कलन, संरचना निर्माणको काममा सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएको छ । क्वारेन्टिनमा खानेपानी र विद्युत्को समस्या हुँदा चुनौती भएको छ । स्थानीय तह आफैँले किट किनेर आफ्ना नागरिकलाई कोरोना परीक्षण गराउने तयारीसमेत भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.