www.tandavnews.com
Fact ~ In search of truth

दुई संक्रमितको उपचारवापत डेढ करोड भत्ता माग्यो धौलागिरि अस्पालले

पोखरा ।
धौलागिरि अस्पतालले दुई कोरोना संक्रमितको उपचार गरेवापत करि डेढ करोड रुपैंया भत्ता माग गरेको छ । उक्त अस्पतालले १ करोड ५३ लाख रुपैयाँ माग गरी प्रदेशको सामाजिक विकास मन्त्रालयमा पत्राचार गरेको हो ।
Batas
कोरोना भाइरस रोग कोभिड १९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायतलाई प्रोत्साहन भत्ता दिने कार्यविधि नेपाल सरकारले बनाएको छ। त्यस्तै कार्यविधि गण्डकी प्रदेश सरकारले पनि बनाएको छ। त्यसै कार्यविधिलाई आधार बनाएर त्यस्तो खर्च विवरण आएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि पुष्टि गरेको छ।
संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीको उपचारमा प्रत्यक्ष संलग्न जनशक्ति तथा संक्रमणको शंकास्पद तथा पुष्टि भएका बिरामीको नमुना संकलन गर्ने जनशक्तिलाई नेपाल सरकारले तोकेको सुरु तलब स्केलको शतप्रतिशत भत्ता दिने नेपाल सरकारको कार्यविधिमा उल्लेख छ। उपचारमा अप्रत्यक्ष संलग्न र इमेजिङ सेवा प्रदायक जनशक्तिलाई तलबको ७५ प्रतिशत र बिरामीको ओसारपसार तथा नमुना ओसारपसार गर्नेलाई ५० प्रतिशत दिने उल्लेख छ। प्रदेशले केन्द्रबाट दिने भत्तामा २५ प्रतिशत थप्ने भनेको  छ।
सामाजिक विकास मन्त्रालयका अनुसार १६९ जनालाई भत्ता उपलब्ध गराउन धौलागिरी अस्पतालले विवरण पेस गरेको हो।
धौलागिरी अस्पतालले डेढ करोड रुपैयाँको खर्च विवरण पेस गरिसकेपछि सामाजिक विकास मन्त्रालयले बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला जनस्वास्थ्य प्रमुखको टिमलाई उक्त विवरणमाथि छानबिन गर्न भनेको छ। प्रदेशको कार्यविधिमा झुठा विवरण पेस गरे कारबाही हुने जनाइएको छ ।
बेल्जियमबाट चैत ४ गते नेपाल आएकी बागलुङकी अंशु सापकोटालाई कोरोना भाइरस पुष्टि भएपछि धौलागिरि अस्पताल भर्ना गरिएको थियो।  धौलागिरी अस्पतालमै अर्की कोरोना संक्रमित मनकुमारी पौडेल भर्ना भई ६ वैशाखमा घर फर्किएकी थिइन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.