www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा २४३ मा डेंगु र २८६ मा स्क्रब टाइफस संक्रमण

चितवन ।

जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेङ्गु र २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । गत साउनयता विभिन्न अस्पतालमा उपचार गर्न आएका उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

डेङ्गु संक्रमितमध्ये चितवनका मात्रै १४९ र बाहिरी जिल्लाका ९४ जना छन् । डेङ्गुका सबै बिरामीको अवस्था सामान्य देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा डेंगुको संक्रमण दर गत वर्षभन्दा यस वर्ष कम छ । गत आर्थिक वर्षमा चार हजार ८०३ जनामा डेंगु संक्रमण देखिएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

Batas

कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष डेंगु र स्क्रब टाइफस दुवैको जोखिम नरहेको जानकारी दिए । उनका अनुसार गत वर्ष रोकथामको काम प्रभावकारी भएकाले यस वर्ष कम संक्रमित भेटिएका हुन् । लकडाउनका समयमा चार÷पाँच महिना मानिस घरभित्रै बसेकाले पनि यसको संक्रमण दर बढ्न नपाएको उनले बताए।

डेंगुले हरेक तीन-तीन वर्षमा महामारीको रुप लिने बताइएको छ । जिल्लामा गत वर्ष नै डेंगुले महामारीको रुप लिएकाले यस वर्ष संक्रमण दर कम भएको कार्यालय प्रमुख तिवारीको भनाइ छ । डेंगु नियन्त्रणका लागि स्थानीय तहले पनि सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

यसैगरी हालसम्म जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये २८६ जनामा स्क्रब टाइफस संक्रमण भेटिएको छ । तीमध्ये चितवनका मात्रै १४९ तथा जिल्ला बाहिरका १३७ जना छन् । स्क्रब टाइफसको पनि जोखिम नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा १२७ जनामा संक्रमण देखिएको तथा दुई जनाको मृत्यु भएको थियो । यस वर्ष एक जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी गीताञ्जली ढकालले जानकारी दिए ।

मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्छ । खेतबारीमा एवं विशेषगरी घरबाहिर काम गर्ने व्यक्तिमा सो रोग लाग्ने उनले जानकारी दिए । रोग गर्मी र वर्षाका समयमा देखिन्छ । किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र सो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेका ठाउँमा घाउ हुने, कमलपित्त हुने र पेट दुख्ने लक्षण देखिने कार्यालयले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.