www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा चैते धानको अनुसन्धान शुरु

पर्वत ।

परम्परागत रूपमा चैतेधान रोपिँदै आएको पर्वतमा पहिलोपटक यसको अनुसन्धान भएको छ । कृषि प्राविधिकले १३ प्रकारका चैतेधानको बीज अनुसन्धान गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (धान जोन) र रामपुर कृषि क्याम्पस चितवनका प्राविधिकले गरेको बीज अनुसन्धानमा तीनओटा जात उत्कृष्ट रहेको ठहर गरिएको छ ।

प्राविधिकले ८०० देखि एक हजार मिटरको उचाइसम्म फल्ने विभिन्न प्रजातिका धानको ल्याब परीक्षण गरेका थिए । किसानले उत्पादन गर्दै आएको स्थानीय जात र आयातित जातको छट्टाछुट्टै परीक्षण गरिएको धान जोन एकाइका प्रमुख धनबहादुर थापाले जानकारी दिए। थापाका अनुसार जिल्लाको हावापानी र भूगोलमा हर्दीनाथ १, हर्दीनाथ ३ र चैते ५ जातका धान सफल देखिएका छन् ।

Lama collectio News Middle

“वर्षौंदेखि धानका जातको अनुसन्धान भएको थिएन”, उनले भने , “सिफारिस नै नभएका जातको धान अधिकांश ठाउँमा लगाइदो रहेछ ।” नयाँ नयाँ जात फेर्दै जानुपर्नेमा किसानले वर्षौंदेखि एउटै जात लगाउँदा अपेक्षित उत्पादन लिन नसकेको उनले बताए । पर्वतका किसानले सीएच–४५, चैते–२, चैते–४ र चैते–६ खुमलटार, टाँकमारेलगायत जात रोप्दै आएका छन् ।

कृषि प्राविधिकले उच्च स्थानमा रहेको पाङको खरीबोट र तल्लो तटीय क्षेत्र कुश्माको अर्मादीमा धानको ब्याड बनाएर अनुसन्धान गरेका हुन् । माघ महिनामा ब्याड बनाएर चैतमा रोपिएको धान अहिले स्थानीय जातको दोब्बर उत्पादन भएको पाइएको छ । कार्यालयका अनुसार स्थानीय जातको धान प्रतिहेक्टर तीन दशमलव तीन टन उत्पादन हुने गरेकोमा अनुसन्धान गरिएको प्रजातिका धान प्रतिहेक्टर पाँचदेखि छ टनसम्म उत्पादन हुने अपेक्षा गरिएको रामपुर क्याम्पसका अनुसन्धाता गङ्गाराम सुवेदीले बताए । पर्वतका जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका र पैयुँ गाउँपालिकाका केही क्षेत्रमा चैते धान रोप्ने गरिएको छ । पर्वतको कुश्मा, मोदी र फलेवासमा धान जोन कार्यक्रम सञ्चालित रहेको छ ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Bajaj skip