www.tandavnews.com
Fact ~ In search of truth

‘लम्पी स्किन’ संक्रामक रोगले गाईभैँसी बिरामी, कृषक चिन्तित

तनहुँ ।

गाईभैंसीलाई लाग्ने लम्पी स्किन रोग तनहुँमा पनि देखिन थालेपछि किसान चिन्तित बनेका छन् ।

प्रदेश नं १, २ र वाग्मतीका केही जिल्लाका गाईभैंसीमा देखिएको यो रोग पछिल्लो समय तनहुँलगायत केही पहाडी जिल्लामा पनि देखिन थालेपछि किसान चिन्तित बनेका हुन् । भारत र बंगलादेशमा गत वर्ष नै देखिएको यो रोग कृषि मन्त्रालयको हेलचेक्रयाइँका कारण नेपालमा पनि फैलिन थालिसकेको छ । लम्पी स्किन संक्रमणको उपचार हालसम्म पत्ता लागेको छैन ।

Batas

प्रदेश १ मा यही रोगले केही गाईभैंसी मरेका छन् । यो रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या हुन्छ र पशुको मृत्यु हुन्छ । तराईका जिल्लामा लामखुट्टे, भुसुना र झिंगाबाट सर्ने यो रोग पहिलोपटक पहाडमा भित्रिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेशको नवलपुर नवलपुर, कास्की, स्याङ्जा र तनहुँमा गरी करिब ४५ वटा गाई÷भैँसीमा उक्त रोगको संक्रमण पुष्टि भएको बताइएको छ । उक्त जिल्लामा गरी करिब १०० वटा गाईभैँसीमा उक्त लक्षण देखिएकाले पिसिआर संकलन गरी ल्याब परीक्षण गर्ने कार्य गरिएको थियो ।

तनहुँको व्यास नगरपालिका–११ का फराकचौरका कृषकले पालेको गाईको नमूना परीक्षण गर्दा उक्त रोग लागेको पुष्टि भएको व्यास नगरपालिकाका पशु विकास शाखा प्रमुख डा. मनोज विश्वकर्माले जानकारी दिए ।

जिल्लाका अन्य क्षेत्रमा भने उक्त रोग देखा परेको छैन । उनले भने, ‘शुरुमा गाईभैँसीमा यो रोग लाग्दा १०४ फरेनहाइटसम्म ज्वरो आउने, घाँटी, कल्चौडा, खुट्टालगायत शरीरको विभिन्न भागमा गिर्खाजस्तो गाँठा आउने, पशु झोक्राउने जस्ता लक्षण देखिने हुन्छ ।’

यो रोग लागेमा पशुले खाना नखाने, दुब्लाउँदै जाने, ८० प्रतिशतभन्दा बढी दूध उत्पादन घट्ने, खुट्टा सुनिने, खोच्याउने, सिँगान बग्ने, आँखा पाक्ने, ¥याल काढ्ने, गर्भ तुहिन सक्ने, महिनौँ बाँझोपन देखिन सकिन्छ । यो रोगबाट २० प्रतिशत पशु बिरामी भई एकदेखि पाँच प्रतिशतसम्म मर्न सक्ने पशु चिकित्सकको भनाइ छ ।

पशु चिकित्सकका अनुसार पशुको विकास र दूग्ध उत्पादन चक्रमा तुरुन्तै असर देखिने यो रोगले मासु उत्पादनमा समेत ठूलो असर गर्छ । यही रोगका कारण कृषकमा विचलन आउँदा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ । यो रोगको सङ्क्रमणले दूध उत्पादनमा ठूलो ह्रास आउने दाबी उनीहरुको छ ।

पशु चिकित्सकका अनुसार झापामा यो रोगको संक्रमण भएको लैनो गाईमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घटेको पाइएको छ ।उक्त रोग नियन्त्रणका लागि कृषकलाई सचेतना कार्यक्रम सञ्चालन गरिएको छ भने बस्तुको गोठ र आसपास क्षेत्रमा सफासुग्घर राख्न लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

यस रोगको खोप नेपालमा हालसम्म उपलब्ध नभएकाले ठोस उपचार नभएको व्यास नगरपालिकाका पशु विकास शाखाका शाखा अधिकृत कल्पना खनालले बताए । उनका अनुसार रोगबाट बचाउन गोठ र गोठको वरिपरि सफा र ओभाने राख्ने, गोठ र मलखादको दूरी १० मिटर कायम राख्ने, भकारोमा पिसाब तथा पानी जम्न हुन नदिने, गोठको वरिपरिका खाल्टाखुल्टी पुर्ने, मट्टितेल, फिनेल, आदि छर्केर लामखुट्टे, भुसुना र झिंगा भगाउने वा मार्ने काम गर्न लगाइएको छ ।

संकटग्रस्त क्षेत्रमा अनाधिकृतरुपमा मानिसको आवतजावत नगर्ने, प्रवेशद्वारमा चुनापानीको व्यवस्था गरी चुनामा टेकेर मात्र प्रवेश गराउने व्यवस्था गरिएको छ । जोखिममा रहेका स्थानबाट पशु खरीद तथा बिक्री गर्नसमेत पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । करिब दशदेखि पन्ध्र दिनसम्म यो रोग निको हुन समय लाग्ने बताइएको छ । ज्वरो आएमा ज्वरोको औषधि र एन्टिबाइटिक औषधि खुवाउनुपर्छ ।

सङ्क्रमित गाई भैँसीको आवतजावतबाट यो रोग सर्ने हुँदा रोगी पशुलाई बेग्लै राखी उपचार र दानापानीको व्यवस्था गर्नुपर्छ । पहिला अफ्रिकामा सिमित यो रोग सन् २०१२ पछि मध्यपूर्व, दक्षिणपूर्वी युरोप, रसिया, काजस्थान हुँदै बंगलादेश र भारतमा केही महिना अघि देखा परेको थियो ।

हाल नेपालको मोरङ, झापालगायतका पूर्वी क्षेत्रमा यसैसँग मिल्दोजुल्दो लक्षण देखाई सयौँ गाई बिरामी परेको र केही मरेकाले यसतर्फ समयमै पशुपालन कृषक सर्तक हुनुपर्ने सो कार्यालयले जनाएको छ ।

तनहुँको हकमा पाँच वटा गाईमा उक्त रोगको लक्षण देखा परेको हो । उनले भने, ‘ ती गाईको नमूना संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको र त्यसको नतिजा पोजेटिभ आएपछि सोहीअनुरुप कृषकलाई व्यवस्थापन गर्न लगाइनेछ ।’ रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.