www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रकवि माधवप्रसाद घिमिरेको देहावसान

काठमाडौँ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गरेका उनको आज आफ्नै निवास लैनचौरमा निधन भएको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले बताए ।

कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छुनु भएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करीब एक मात्र र अत्यन्त महत्वपूर्ण कवि मान्छन् । उनका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् । मालतीमङ्गले उनले लेखेका बहुचर्चित नेपाली नृत्यनाटिका ९ओपेरा० हो । अश्वत्थामा (अङ्ग्रेजी) कृति नोबेल पुरस्कारको मनोनयनका लागि पठाइएको थियो ।

Batas

घिमिरेका किन्नरकिन्नरी गीतसङ्ग्रह, , गाउँछ गीत नेपाली, फूलको थुँगा बगेर गयो, आजै र राति के देखेँ सपना, नेपाली हामी रहौंँला कहाँ नेपालै नरहे बोललगायत थुप्रै गीत तथा निबन्ध एवं बालसाहित्य प्रकाशित छन् । उनका थुप्रै बाल कवितामध्ये साना बालबालिकालाई ध्यानमा राखेर ‘मुनुमुनु म्याँ म्याँ ब्रुक ब्रुक‘ अत्यधिक लोकप्रिय मानिन्छ ।

राष्ट्रियता, देशभक्ति, प्रकृति र प्रेमप्रणयका भावले ओतप्रोत उहाँका कृतिमा परिष्कृत र स्वच्छन्दतावादी भावधारा पाइन्छ । नेपाली लोकलयमा प्रभावशाली गीत रचना उहाँको अर्को विशेषता हो । उनले संस्कृत छन्दका नियमभित्रै रहेर छन्दोबद्ध कवितालाई सरल र बहुसङ्ख्यक नेपाली पाठकले बुझ्नेस्तरमा उकाल्नुभएको मानिन्छ ।

अल्पायुमै पत्नी गौरीको निधन भएपछि उनले अत्यन्त प्रभावकारी शैलीमा शोककाव्यको रचना गरे जुन उनको काव्ययात्राको कोशेढुंगा सावित भयो । त्यसपछि उनले महाकाली घिमिरेसंँग विवाह गरे ।

लमजुङको पुस्तुन बाहुनडाँडाबाट काठमाडाँैं आएका घिमिरेका काव्यकृतिमा मस्र्याङ्दी नदी र त्यहाँको लोकजीवनले अत्यन्त महत्वपूर्ण पाश्र्वभूमिको काम गरेका छन् । उनी नेपाली कवितामा पूर्वीय दार्शनिक भावभूमि र प्रखर राष्ट्रवादका हिमायती थिए । उनको ऋतम्भरा महाकाव्य लेखन अन्तिम चरणमा थियो ।

विसं २०७४ माघ २६ गते उनलाई नेपाली सेनाले मानार्थ सहायक रथीको दर्जा दिएको थियो भने सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साल फागुन २ गते जङ्गीअड्डामा आयोजित समारोहमा दर्जानी चिह्न प्रदान गरेकी थिइन् । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपतिसम्म भएका उनलाई विसं २०६० मा राष्ट्रकवि उपाधि दिइएको थियो ।

उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने र नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारद प्रदान गर्ने जनाइएको छ ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.