www.tandavnews.com
Fact ~ In search of truth

बाढीले झोलुङ्गे पुल बगाएपछि आवत जावतमा समस्या

सन्तोष गौतम
म्याग्दी, रासस ।

रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ । बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावतमा समस्या भएको दुवाडीका याम घर्तिमिरेले जानकारी दिए । “खाद्यान्न ढुवानी, बिरामी स्वास्थ्य संस्थामा जान र काम विशेषले छिमेकी गाउँमा जान पाइएको छैन,” उनले भने “खोलामा जङ्घार तरेर अथवा घुमाउरो बाटो हिँड्नुपर्ने भएकाले जनजीवन कष्टकर भएको छ ।”

दुवाडी र ढाड जोड्ने बन्दीघाटको ७८ मिटर र खरिबोटस्थित ११८ मिटर लामो झोलुङ्गे पुल बाढीले बगाएको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले जानकारी दिए । “एकरातेको ६० मिटर लामो भाकर झोलुङ्गेपुल र छहरीस्थित ७८ मिटर लामो झोलुङ्गे पुलको एकातर्फको भाग नदीमा खसेको छ,” उनले भने  “दुवाडी, घ्याँसीखर्क, पात्लेखर्क, चौरखानी, खरिबोटलगायत बस्तीका २०० भन्दा बढी घरधुरीलाई आवतजावतमा समस्या भएको छ ।”

विसं२०७७ को साउन महिनायता विभिन्न समयमा रघुगङ्गा नदीमा आएको बाढीले पुल बगाएको हो । बगाएको सबै पुल रघुगङ्गा नदी माथिका हुन् । सबै पुलको दायाँतर्फको भागमा कटान गरेर बगाएको छ । कुइनेमङ्गले म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गाउँ हो ।

Lama collectio News Middle

यसैगरी पहिरोले कुइनेमङ्गलेका विभिन्न बस्तीमा पाँच घर पुरिएका र २१ घर विस्थापित भएका छन् । दुवाडीमा दुई वटा र पात्लेखर्कमा एउटा घर पुरिएका तथा छहरीमा दुई वटा घर रघुगङ्गा नदीले कटान गरेर बगाएको वडाध्यक्ष छन्त्यालले बताए ।

चौरखानीमा एउटा सामुदायिक भवन, १० घर र दुवाडीमा १० घरमा क्षति पुगेको छ । पहिरोका कारण जमिन धाँजा फाटेर चिरा पर्न थालेपछि स्थानीयले घर छाडेका छन् । चौरखानीका चन्द्रबहादुर छन्त्याल, दलबहादुर विक, नरप्रसाद छन्त्याल, थमबहादुर छन्त्याल, उत्तम छन्त्याल, रेमान छन्त्याल, रामप्रसाद छन्त्याल, गमबहादुर छन्त्याल, हर्क छन्त्याल र नरमान छन्त्यालको घरमा क्षति पुगेर विस्थापित भएका छन् ।

रु १४ लाख खर्चेर दुई वर्षअघि चौरखानीमा निर्माण गरिएको सामुदायिक भवनसमेत पहिरोका कारण चिरा परेर भत्किएको छ । बाउन्न घर भएको चौरखानीमा हाल ३७ परिवारको बसोबास छ । पहिरो नियन्त्रणको प्रयास सफल नभएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चौरखानीका बासिन्दालाई अन्यत्र स्थानान्तरण गराउनुपर्ने बस्तीको सूचीमा राखेको छ ।

जग्गा पहिचान हुन नसक्दा बस्ती स्थानान्तरणको योजना कार्यान्वयन हुन सकेको छैन । भूगर्भविद्को टोलीले अध्ययन गरेर बस्ती सार्न सुझाव दिएका थिए । यसैगरी घ्याँसीखर्क हुँदै चौरखानी जोड्ने पदमार्गसमेत पहिरोले भत्काएको छ । रघुगङ्गा गाउँपालिकाले गत आर्थिक वर्षमा रु १३ लाख खर्चेर ढुङ्गाको सिँढी चिनेर चौरखानी पुग्ने पदमार्ग बनाएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery