www.tandavnews.com
Fact ~ In search of truth

अलपत्र फलेबास–अर्मादी खण्डको ट्र्याक ओपन सुरु

पर्वत ।

जिल्लाको ‘लाइफलाइन’ कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्र्याक ओपन भदौ महिनाभित्रै सकिने भएको छ ।

दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी सुरु भएको हो । सडक निर्मााणको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले भदौभित्रै सडकको ट्र्याक ओपन सक्ने गरी काम शुरु गरेको कालीगण्डकी करिडोर गाईघाट–मालढुङ्गा आयोजना कार्यालयले जानकारी दिएको छ ।

Batas

करिडोरको फलेबास नगरपालिकाको ढिकदेखि कुस्मा नगरपालिकाको अर्मादीसम्म १४ किमी सडकमध्ये झण्डै २०० मिटर मात्रै भीरमा ट्र्याक ओपनको काम बाँकी छ । अर्मादी–फलेबास खण्डमा मोदीवेणीघाट नजिक १५० मिटर र मोदीखोलाको पुलपारि फलेवासतर्फ झण्डै ५० मिटर मात्रै ट्र्याक खोल्न बाँकी छ ।

‘भदौ महिनाभित्रै ट्र्याक खोलिसक्ने गरी मोदीवारि र पारिबाट काम शुरु गरेका छौँ’, निर्माण कम्पनीका प्रतिनिधि दीपक रैसवालले भने । विसं २०७५ जेठ २१ मा सम्पन्न गर्ने गरी विसं २०७३ असार २२ मा सम्झौता भएको उक्त खण्ड लामो समयसम्म अलपत्र बनेको थियो । पछिल्लो समय कोभिड–१९ का कारण आगामी पुससम्म म्याद थप गरिएको छ ।

रैसवालका अनुसार अहिले ट्र्याक खोल्ने कुरालाई पहिलो प्राथमिकता दिइएको छ । त्यसपछि अन्य काम हुनेछ । करिडोरको पर्वतदेखि स्याङ्जाको मिर्मी खण्डमा लामो समयदेखि काम अलपत्र थियो ।

करिडोर कार्यालयका साइट इन्चार्ज इन्जिनीयर अर्जुन नेपालीका अनुसार पर्वतको अर्मादीदेखि स्याङ्जाको सेतीवेणीसम्मको ५३ किमीमध्ये मिर्मीदेखि सेतीवेणीसम्मको सात किलोमिटरमा सडक कालोपत्रेको टेण्डर भइसकेको छ भने सेतीवेणीदेखि रानीपानीसम्मको सात किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ ।

रानीपानीदेखि फलेबाससम्मको २२ किमीमा स्तरोन्नतिको काम सकिएको छ भने छिट्टै कालोपत्रेका लागि टेण्डर आह्वान हुने अवस्था छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, प्रतिनिधिसभा सदस्य पदम गिरी र गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आफ्ना ठाउँबाट यो सडक खण्डको स्तरोन्नति तथा बजेट विनियोजनका लागि पहल गर्दै आएका छन् ।

पछिल्लो समय पर्वतको फलेबास–अर्मादी खण्डको अलपत्र काम शुरु गर्न गण्डकी प्रदेशका मन्त्री लम्सालको विशेष पहलपछि काम थालिएको छ । पाल्पास्थित करिडोर कार्यालयका नरेन्द्र सुवेदी र अर्जुन नेपालीको सक्रियताले पनि कामलाई समयमा सम्पन्न गर्न सहयोग पुगेको स्थानीयवासीले बताएका छन ।

पाल्पास्थित करिडोर कार्यालयका प्रमुख सुवेदीका अनुसार सडकको ट्र्याक खुलेपछि पर्वतको मालढुङ्गादेखि स्याङ्जाको मिर्मीसम्म ५३ किलोमिटरमा सोझै यातायात चल्नका लागि मार्गप्रशस्त हुनेछ ।

चालु आर्थिक वर्षभित्र मोदी, लमाय, सेती र आँधीखोलाका निर्माणाधीन पुल सम्पन्न गरी अर्मादीदेखि मिर्मीसम्म सोझै यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ ।‘कोभिड–१९ को नकारात्मक प्रभाव परेन भने यो वर्षभित्र अर्मादीदेखि मिर्मीसम्म सोझै यातायात चलाउन सक्छौँ’, आयोजना प्रमुख सुवेदीले भने, ‘यो खण्डमा सडक स्तरोन्नतिको काम पनि सम्पन्न गर्ने योजनासहित अघि बढेका छौँ ।’ रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.