www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा एकै दिन चार जना डेंगु र स्क्रबटाइफसका बिरामी

म्याग्दी ।

म्याग्दीमा एकै दिन चार जना डेंगु र स्क्रबटाइफस संक्रमित बिरामी भेटिएका छन् । उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा पुगेका उनीहरुमध्ये तीन जनामा डेंगु र स्क्रबटाइफस भएको हो ।

बेनी नगरपालिका–४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका–५ पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ३३ वर्षका पुरुषमा डेंग र स्क्रबटाइफस भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए।

Batas

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका ३३ वर्षीया महिलामा भने डेंग मात्र देखिएको छ । उनीहरु बाहिरबाट नआएर स्थानीयस्तरमै खेती किसानी र व्यापार व्यवसाय गर्ने व्यक्ति हुन् । उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीमा यो वर्ष ३७ जना डेंग र १२ जना स्क्रबटाइफसका बिरामी भेटिएका छन् ।

गत वर्ष १३ जना डेंग सङ्क्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परीक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंग सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्सेनि पाँच करोड मानिस प्रभावित हुने तथ्यांक छ ।

नेपालमा गत वर्ष केही डेंग संक्रमितको ज्यानसमेत गएको थियो । पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेशीहरु दुख्ने डेंगका मुख्य लक्षण हुन् ।

टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रममा पानी जम्न नदिने, घर, कौसीको गमला, फूलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याङ्कीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ ।

डेंग फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ । स्क्रबटाइफस किर्नाको टोकाइबाट सर्छ । डेंग र स्क्रबटाइफसको केही लक्षण मिल्दोजुल्दो हुन्छ । स्वास्थ्य कार्यालय र स्थानीय तहले डेंगको बासस्थान नष्ट गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.