www.tandavnews.com
Fact ~ In search of truth

रोल्पामा कोरोना संक्रमित शून्य

रोल्पा ।

रोल्पा जिल्लामा कोरोना संक्रमित शून्य भएको छ । देशैभर कोरोना संक्रमित समुदायस्तरमै बढिरहेका बेला रोल्पामा भने कोरोनाको सक्रिय संक्रमित संख्या शून्यमा झरेको छ । पछिल्लोपटक अस्थायी आइसोलेशन केन्द्रमा बस्दैआएका तीन जना घर फिर्ता भएसँगै जिल्लामा सक्रिय संक्रमित संख्या शून्य भएको हो ।

जिल्लामा हालसम्म देखापरेका सङ्क्रमित ८३ मध्ये ७८ जना कोरोना जितेर आइसोलेशनबाट फिर्ता भइसकेका छन् । संक्रमितमध्येका अन्य पाँच संक्रमित भने अन्य जिल्लाका रहेकाले हाल जिल्ला जनस्वास्थ्यको सम्पर्कमै नरहेको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका प्रमुख अनिल केसी बताउछन् ।

Batas

उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिए पनि अझैसम्म जिल्लाको आइसोलेशनमा आइनपुगेकाले जिल्लाको कोरोनाको सक्रिय संक्रमित संख्या शून्य देखिएको हो । क्वारेन्टिनमा बसेका बखत आत्महत्या गरेका एक जनाको रिपोर्ट पोजेटिभ देखिएका कारण जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक देखिएको छ ।

जिल्ला कोरोनामुक्त भन्न मिल्दैन, जिल्लाको क्षेत्रभित्र कोरोना पोजेटिभ नभए पनि जिल्ला बाहिर रहेका रोल्पाली कोरोना संक्रमित हुनसक्ने भएकाले कोरोनामुक्त नभई कोरोना शून्य भएको अवस्था भन्न सकिने प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताए । ‘स्वाब परीक्षणका लागि केही नमूना पठाइएको हुँदा त्यसको पोजेटिभ रिपोर्ट आउनसक्ने सम्भावनालाई नकार्न सकिँदैन’, प्रजिअ रानाले भने ।

कोरोना सक्रिय संक्रमितका लागि जिल्लामा ७८ श्ययाको आइसोलेशन केन्द्र स्थापना गरी सेवा प्रवाह भइरहेको छ । जलजला बहुमुखी क्याम्पसमा रहेको सो आइसोलेशन सञ्चालनका लागि जिल्लाका दशवटै स्थानीय तह र प्रदेश सरकारका साथै सर्वसाधारणले समेत आर्थिक भौतिक सहयोग गरेका थिए । जिल्ला कोराना शून्य रहे पनि सरकारको निर्देशन नहुँदासम्म आइसोलेशन केन्द्र कायमै रहने स्थानीय प्रशासनको भनाइ छ ।

भारत तथा अन्य मुलुकका साथै देशको विभिन्न जिल्लाबाटसमेत रोल्पा आवतजावत भइरहेको हुँदा जुनसुकै बेला कोरोना संक्रमित देखिन सक्छन् । गत जेठ १ गतेदेखि हालसम्म भारतबाट दुई हजार ३७९ र तेस्रो मुलुकबाट २६१ जना रोल्पा भित्रिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

यसरी भित्रनेमध्ये सबैभन्दा धेरै सुनिल स्मृति गाउँपालिकामा ७४७ जना भारतबाट र पाँच जना तेस्रो मुलुकबाट छन् भने सबभन्दा कम थवाड गाउँपालिकामा भारतबाट २० र तेस्रो मुलुकबाट २४ जना छन् । जिल्लामा हालसम्म दुई हजार ४८१ जनाको स्वाब संकलन गरिएकामा दुई हजार ४०८ जनाको स्वाब परीक्षण गरिएको छ ।

हाल जिल्लाका विभिन्न स्थानमा ९७ श्ययासहितको २२ स्थानमा क्वारेन्टिन छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.