www.tandavnews.com
Fact ~ In search of truth

छोम्रोङमा नेपालकै उच्च स्थानको ‘लन टेनिस कोर्ट’ बन्दै

अर्जुन गाहा ,
पोखरा / ताण्डव न्यूज ।

पर्यटकिय दृष्टिकोणबाट परिचित कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङको परिचयमा खेलकुदको क्षेत्र पनि जोडिएको छ । त्यसो त त्यहाँ खेलकुदको गतिविधि अहिलेसम्म नभएको भने होईन ।

भलिबल र बास्केटबलको मैदान यसअघि नै निर्माण भैसकेका छन् । तर पछिल्लो समय उक्त गाउँमा २१७० मिटर उचाईमा लन टेनिस कोर्ट बन्ने क्रममा रहेपछि गाउँको परिचयको दायरा फराकिलो हुने र खेलकुदको क्षेत्रबाट थप पर्यटक भित्रन सक्ने स्थानियहरुको अपेक्षा छ ।

Batas

यसको निर्माण सम्पन्न भएसँगै नेपालकै अग्लो स्थानको टेनिस कोर्ट बन्नेछ । तर आगामी पुष सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेपनि बजेटको अभाव रहेको स्थानीयहरुको भनाई छ । ‘अहिले पहिलो चरणमा कास्की जिल्ला खेलकुद विकास समितिले दिएको १५ लाखको काम गरेका छौ, खेलमैदान समितिका अध्यक्ष मिकास गुरुङले भने, ‘हामीले पुषमा सम्पन्न गर्ने गरी निर्माणको कामलाई अघि बढाएका छौ ।

बजेटको अभाव छ प्रदेश सांसद राजीव पहारी सँग समन्वय गरेर बजेट माग गर्ने लक्ष्यमा छौ ।’ उनले उक्त कोर्ट अन्तर्राष्ट्रिय मापडण्ड अनुसारकै निर्माण हुने बताउदै ५० लाख बढि लागत लाग्ने बताए ।

उनका अनुसार अहिले निर्माणाधिन मैदानलाई लेभलिङ गर्ने काम सकिएको छ । त्यस्तै स्थानीय पर्यटन व्यवसायी राजकुमार गुरुङले उक्त कोर्ट निर्माण पश्चात छोम्रोङको परिचय फराकिलो हुने बताए । ‘लन टेनिसको प्रतियोगिता हामी हिमालको काख हाई अल्टिच्युड कोर्टमा गर्न सक्छौ, उनले भने, ‘पोखरामा हुने खेललाई छोम्रोङमा आयोजना गर्न सकिन्छ । यसले पर्यटन प्रर्वद्धनमा समेत थप सघाउ पुग्छ ।’

उनले विभिन्न चाडको अवसर पारेर आयोजना गरिने मेलामा भलिबल र बास्केटबल लगायतका खेलकुदलाई समावेश गरिदै आएको स्मरण गर्दै टेनिसकै मात्र पनि भव्य प्रतियोगिताको आयोजनाको योजनाहरु समेत रहेको उल्लेख गरे ।

त्यस्तै कास्की जिल्ला खेलकुद विकास सतितिका कार्यालय प्रमुख प्रकाश बरालले गण्डकी प्रदेशको मात्र नभई उक्त टेनिस कोर्ट नेपालकै अग्लो स्थानको कोर्ट रहेको तर्क दिए । ‘यो त गण्डकी प्रदेशकै मात्र होईन, उनले भने, ‘दावाका साथ भन्न सक्छु नेपालकै उच्च उचाईमा रहेको पहिलो कोर्ट बन्नेछ ।’

उनले आफु स्वयम् अनुगमनमा गएको बताउदै तिव्र गतिमा निर्माणको काम भैरहेको बताए । ‘प्रदेश सरकारले गण्डकीलाई खेलकुदको हब बनाउने भनिरहँदा यस्तो कामलाई पनि चाँसो दिनुपर्छ, बरालले भने, ‘यस्तो सिर्जनात्मक काममा प्रदेश सरकारले समेत सहयोग गर्नुपर्छ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.