www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा दूध, मासु र अण्डा मागभन्दा बढी उत्पादन

तनहुँ ।

तनहुँ जिल्लामा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी भएको छ ।

पशुपालन गर्ने कृषकको संख्या बढेसँगै तनहुँ जिल्ला दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्न सफल भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा दूध, अण्डा र मासुको मागभन्दा उत्पादन बढी भइरहेको जनाएको छ ।

Batas

केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा दूध, अण्डा र मासुको उत्पादन वृद्धि भएको जानकारी दिए । ‘जिल्लामा जति माग छ, त्योभन्दा बढी उत्पादन भइरहेको तथ्यांकले देखाएको छ, यसले तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर भएको छ’, डा .श्रेष्ठले भने ।

डा. श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५० हजार ६८१ मेट्रिक टन दूध, एक करोड ६२ लाख ९४ हजार गोटा अण्डा र चार हजार ६८८ मेट्रिक टन मासु उत्पादन भएको छ । आर्थिक वर्ष २०७५/७६ मा ४९ हजार ५४३ मेट्रिक टन दूध, एक करोड ५२ लाख ५७ हजार गोटा अण्डा र चार हजार ५५८ मेट्रिक टन मासु उत्पादन भएको थियो ।

जिल्लामा २९ हजार ४१९ मेट्रिक टन दूधको माग भए पनि मागभन्दा २१ हजार २६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ । चार हजार ५२६ मेट्रिक टन मासुको माग भए पनि १६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ भने एक करोड ५५ लाख १७ हजार गोटा अण्डाको माग भए पनि सात लाख ७६ हजार गोटा बढी उत्पादन भइरहेको छ ।

विज्ञ केन्द्रका अनुसार तनहुँमा उत्पादित दूधमा भैँसीको योगदान बढी रहेको छ । जिल्लामा एक लाख ४० हजार ७४७ भैँसी, ९६ हजार ६०८ गाईपालन गरिएको छ । त्यस्तै ८९३ भेडा, पाँच लाख १२ हजार २४ बाख्रा, पाँच लाख ४८ हजार ५८२ कुखुरा, एक हजार ३८२ हाँस, ७९ हजार १८० बङ्गुरपालन गरिएको छ ।

जिल्लामा १९४ गाईफार्म, ६८ भैँसी, २९३ बाख्रा, ९८ बङ्गुर, २४२ कुखुरा र ४६ माछाफार्म दर्ता भएर सञ्चालित छन् । युवालाई पशुपालनमा आकर्षित गराउन अनुदान वितरण गर्ने, तालिम प्रदान गर्ने, प्राविधिक सहयोग गर्नेलगायत काम विज्ञ केन्द्रले गर्दै आएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.