www.tandavnews.com
Fact ~ In search of truth

‘ठग ठेकेदार’को बहानाबाजीले अलपत्र फिर्के पुल

"खै फिर्के पुल ? ठेकेदारले खायो , खै ठेकेदार ? सरकारलाई समात्यो, खै सरकार ? सुत्यो"

अर्जुन गाहा
पोखरा, ताण्डव न्यूज ।

पोखरा महानगरपालिका वडा ४ र ५ (सिद्धार्थचोक–पस्र्याङ) जोड्ने फिर्के पुल निर्माणको जिम्मा लिएको शान्ति आरोग्यदेवी (जेभी) सानेपा ललितपुरले लकडाउन र वर्षायामको बहाना पार्दै काम अलपत्र पारेको छ । संघीय सरकारको ७० र महानगरको ३० प्रतिशत विनियोजित बजेटलाई सम्झौता अनुसार चालु गर्न नसक्दा उक्त पुल निर्माण कार्यलाई ठेकेदारले अलपत्र पारेको हो ।

महानगरले निर्माण कम्पनीसँग ४ करोड ५५ लाखमा २०७७ मंसिर ५ गते निर्माण कार्य सम्पन्न गर्ने गरी गत २०७६ साल भदौ १ गते सम्झौता गरेको थियो । तर सम्झौता मिति सकिन लाग्दा समेत निर्माणको सुर नदेख्दा भने निर्धारित समयमा सम्पन्न नहुने प्रष्ट छ ।

Batas

सम्झौता रकम ४ करोड ५५ लाख भएपनि महानगरको रेडबुकको शिर्षक नम्बर ३१ हजार १ सय ५१ मा ३ करोड ३९ लाख ६६ हजार बजेत विनियोजन गरिएको उल्लेख छ । ‘यसबाट निर्माण कम्पनीले मोविलाईजेशन रकम भुक्तानी गरिसकेको देखिन्छ’, पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष शंकर बास्तोलाले ताण्डव न्यूजसँग भने ।

बास्तोलाले उक्त पुलको निर्माण कार्य गत मंसिरमा सुरु गरिएको बताउदै प्रारम्भिक चरणमा डोजर लगाएर भत्काईएपनि अन्य काम अघि बढ्न नसकेको बताए । उनले यथाशिघ्र उक्त मोटरेवल पुल निर्माणको लागि महानगरमा पत्र पठाएको जानकारी दिए । ‘केन्द्रको ७० र महानगरको ३० प्रतिशत भनेपनि सबै हेर्ने महानगरले नै हो ।’ अध्यक्ष बास्तोलाले भने ।

त्यस्तै वडा नं ५ का अध्यक्ष तथा महानगरका प्रवक्ता समेत रहेका धन बहादुर नेपालीले ठेकेदारलाई छिट्टै झिकाएर काम गराउने बताए । ‘जग भर्ने मजदुर बंगलादेशी रैछन् अब उनीहरु आएर काम हुन्छ भन्ने एउटा कुरा छ’, प्रवक्ता नेपालीले भने, ‘अनि कुनै कुराले ढिला भएको छ भने हामी कारवाही प्रक्रियामा जान्छौँ ।’

त्यस्तै साईट जुनियर ईन्जिनियर नेत्र तिमिल्सिनाले उक्त निर्माण कम्पनीसँग स्थानिय मात्रै नभई आफुहरु समेत आजित भैसकेको बताए । उनले निर्माण कम्पनीलाई पुन काम सुचारु गर्न पत्र काटेको जानकारी दिदै भने, ‘अहिलेलाई मान्छे मात्रै हिड्न मिल्ने गराका हौ । तुरुन्तै भदौ पछि काम सुरु गरिहाल भनेको हो किनभने वर्षा पनि कट्यो अब उसको बहाना बनाउने स्थिति पनि छैन । अब गरे पनि सम्झौता मितिमा सकिदैन ।’

उनले अब पनि निर्माणको कामलाई तिव्रता नदिएको खण्डमा कारवाहीको विकल्प नरहेको तर्क राखे । ‘अब उसको बैंक धरौटीहरु सबै जफत गरेर ब्ल्याक लिष्टमा हालेर अर्काे प्रक्रियामा जान उपयुक्त हुन्छ भन्ने लाग्छ मलाई, उनले भने, ‘कुर्न पनि कति कुर्नु तनी। काम गर्छु भनेर ठेक्का लिगेको छ । साईट सजिलो गाह्रो भन्ने कुरो त उसले हेरेरै लिएको हो त्यही माथी ए क्लासको ठेकेदारलाई हाम्ले भन्ने कुरो नि होईन ।’

ठेकेदारले शाखा प्रमुखलाई भेटेर १५ दिनको तयारी पश्चात कार्यको थालनी गर्ने आश्वाशन दिएर गएको प्रारम्भिक चरणमा साईट हेरेका ईन्जिनियर विकास सुवेदीले बताए । उनका अनुसार १५ मिटर लम्बाई र दुई तर्फ फुट ट्रयाक सहित ११ मिटर चौडाईको आर.सी.सी टिबिम पुल निर्माण हुनेछ ।

स्थानिय व्यवसायी भन्छन्, ‘भत्काउने काम बाहेक अरु केही गरेन’

फिर्के पुल नजिकै फेन्सी संचालन गर्दै आएकी मनकुमारी आलेले ठेकेदार र दुई वडाका अध्यक्षको लापरवाही र मिलेमतोमा निर्माण कार्य अलपत्र भएको बताईन् । ‘व्यापार नभएपछि भाडा कसरी तिर्छन् भनेर यो बाटो पनि हाम्रो घरबेटीले बनाईदिएको हो । पोहोर भत्काको हो त्यस्तै ३ ट्रक माटो ल्याएर पुर्याे त्यही पनि भलले लयो, उनले आक्रोश पोखिन्, ‘यहाँको नेताहरुलाई ढुङ्गाले ड्याङ ड्याङ ठोक्नुपर्ने हो । बाटो भत्काउने काम गर्याे बिगार्ने काम बाहेक अरु केही गरेन ।’

त्यस्तै साथीभाई खाजा घरका सञ्चालक रमेश आचार्यले एक वर्ष सम्म पनि काम सुरु नहुदा व्यापारसँगै आवागमनमा बाधा पुगेको बताए । ‘यहाँ पानी आयो भने मान्छे बगाउने भल आउँछ, उनले भने, ‘ईन्जिनियरले कसरी सर्वे गरेको हो कुन्नी, पानी व्यवस्थापन गर्ने काम महानगरको हो भनेका थिए भन्ने सुनेको हो । त्यसपछि यी अहिले यस्तो छ ।’

उक्त पुल निर्माण गर्न डोजर प्रयोग गरेकाले आफ्नो रेष्टुरेण्टलाई समेत असर पारेको बताउदै भने, ‘मंसिरमा रेष्टुरेण्ट किने, किनेको १५ दिनमा डोजर हाल्यो । अनि वर्षाभरी रातभरी सुत्न नि सकिएन । चौबिसै घण्टा त्यहाँ ध्यान दिएको हुनाले अब यो वर्ष हामी रह्यौ कि भन्ने लाछ ।’

उनले उक्त स्थानमा ठुलै पुलको आवश्यक नरहेको तर्क राखे । ‘एकपटक महानगर गएको टोलीले मेयरसँग कुरा गरेर वैठकबाट तल ह्युमपाईप हालेर पहिला जस्तै बनाउने भन्ने कुरा थियो रे खै कहिले हो । वास्तबमा यति ठुलो पुल नै चाहिन्छ जस्तो लाग्दैन ।’ उनले भने । उनले वडा ४ र ५ लाई जोड्ने मुख्य पुल भएको बताउदै निर्माण कार्य अलपत्र पर्नुको जवाफ वडा अध्यक्ष द्वयले दिनुपर्ने बताए ।

सोही स्थान नेर व्यवसाय गर्दै आएका मोहन पौडेल पनि पुल निर्माण नहुँदा आजित छन् । भन्छन्‘सामान लान, ल्याउन पनि हैरान भइसक्यो । बन्छ बन्छ भन्छन् , कहिले हो बन्ने खै ? यो त अति भयो । खै गाई ? खोलाले बगायो भनेजस्तो खै पुल ? ठेकेदारले खायो, खै ठेकेदार ? सरकारलाई समात्यो, खै सरकार ? सुत्यो । ठग रहेछ ठेकेदार । त्यस्तालाई ठेक्का दिने महानगर पनि उस्तै ।’

कोरोना महामारीको बिचमा पनि प्रदेश तथा स्थानिय सरकारले निर्माणको कार्यलाई आवश्यक स्वास्थ्य सामाग्रीको प्रयोग गरेर निरन्तरता दिन निर्देशन दिएको थियो । तर कास्कीका कैयौं पुल तथा अन्य संरचनाहरु सम्झौता मिति सकिदा समेत सम्पन्न हुन सकेका छैनन् । यस विषमा ‘महानगर बेखबर बनेकै हो ? महानगरलाई मोतियाबिन्दु लागेकै हो ?’ सर्वसाधारणको प्रश्न छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.