www.tandavnews.com
Fact ~ In search of truth

आठमहिना पछि स्वास्थ्य मापदण्ड अपनाइ खुल्यो चिडियाखाना

अवलोकनकर्ता पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने

काठमाडौं ।

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठमहिनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ चिडियाखाना खुला गरिएको जानकारी दिए । सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एकपटकमा ८०० मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन् ।

Batas

भित्र जानेको सङ्ख्याजस्तै बाहिर निस्कनेको संख्या पनि गणना गरिनेछ । जति जना बाहिर निस्कन्छन् सोही बराबरको संख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइने मापदण्ड रहेको छ ।

यसअघिझै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर रहेको छ । त्यहाँका मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् ।

ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

चिडियाखाना अवलोकनका गर्न विदेशीका लागि ७५०, सार्क देशका लागि रु ५००, नेपालीलाई रु १५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिइएको छ । वार्षिक ११ लाख दर्शकसम्म अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि रु १६ करोडसम्मको कारोवार हुने गरेको छ ।

टिकट लिन लाइनबस्नु नपर्ने

प्रवेशका लागि पहिलेजस्तो टिकट लिन लाइन बस्न नपर्ने व्यवस्था गरिएको छ । चिडियाखानाको वेवसाइट वा ई सेवामार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ । व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट निर्णय नआउँदा खुल्न सकेको थिएन ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जंगबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गरेका थिए । विसं २०११ बाट सर्वसाधरणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.