www.tandavnews.com
Fact ~ In search of truth

मुटु काम्ने जाडोमा पातलो ज्याकेटकै भरमा सुरक्षाकर्मीको ड्युटी

इलाम ।

सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ ।विशेषगरी बोर्डर आउट पोष्ट (बीओपी)मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको छ ।

हिमाली क्षेत्रमा खट्नुपर्ने तर पर्याप्त सुविधा नहुँदा कठ्याङ्ग्रिदो जाडोमा ज्याकेट मात्र लगाएर काम गर्नुपर्ने बाध्यता छ ।यसरी खटेका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त सुविधा ९ज्याला० छुट्याएको छैन भने रासनसमेत बढाएको छैन ।

जिल्लामा आएकै रासन मिलाएर सीमामा खटेका सुरक्षाकर्मीलाई पठाउनुपर्ने बाध्यता छ ।

‘हामीसँग पर्याप्त सुविधा छैन, राज्यको सुविधा नै सीमित भएकाले कम सुविधामै काम गर्नुपरेको छ’, सशस्त्र प्रहरी कार्यालय इलामका प्रमुख सुधीरजङ्ग थापाले भने, ‘जति छ त्यतिमै चित्त बुझाएर सुरक्षामा खटेका छौँ ।’

जिल्लाको जौबारी र सन्दकपुरमा सुरक्षाका लागि बीओपी स्थापना भएको छ । यी दुईस्थान तीन हजार मिटरभन्दा बढी उचाइका छन् ।यी क्षेत्रमा वर्षमा पाँच महिना हिउँ पर्छ तर सुविधा नबढाउँदा समस्यासँग जुझ्दै सुरक्षामा खटिनुपरेको छ ।

आवास र सुविधा बढाउन जिल्ला सुरक्षा समितिको बैठकमा जानकारी पनि गराइन्छ तर सुनुवाइ नहुँदा जत्तिको तत्तिमै चित्त बुझाएर सुरक्षामा खटिनुपरेको छ ।

इलामको पशुपतिनगरसहित सलकपुर, समालवुङ, छब्बीसे, कालपोखरी र जौबारीमा बीओपी स्थापना गरिएको छ ।पशुपतिनगरमा बाहेक सबै स्थानमा यसै वर्ष बिओपी स्थापना गरिएको हो । प्रत्येक बीओपीमा २०÷२० जनाको दरमा सशस्त्र प्रहरी खटाइएको छ ।

‘अरू सुविधा नभए पनि हिउँबाट जोगिनका लागि स्लिपिङ ज्याकेट मात्रै भए पनि ड्युटी गर्न केही सजिलो हुन्थ्यो’, प्रमुख थापाले भने, ‘मोटरसाइकलमा ओहोरदोहोर गर्नुपर्छ । गाडीको सुविधा भए जाडोमा कतै जानसमेत सहज हुन्थ्यो ।’

सशस्त्र प्रहरीको मात्र होइन सीमामा खट्ने नेपाल प्रहरीको हविगत पनि उस्तै छ । सीमाभन्दा केही तलको भूभागमा राखिएका प्रहरी कार्यालयमा पनि लत्ताकपडाकै समस्या छ ।

जिल्लामा खटिएकै जतिमात्र लत्ताकपडा र रासन आउँछ र त्यही बाँड्नु पर्ने बाध्यता छ । ‘माग गरे जति दरबन्दी आएको छैन । भएकै जवान खटिनुपर्छ’, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नवीन राईले भने, ‘यसले गर्दा एकै जना व्यक्ति ड्युटीका लागि धेरैतिर पुग्नुपर्छ ।’

राईका अनुसार जिल्लाका लेकाली क्षेत्र कालपोखरी, जौबारी, साकफारा र चिसापानी जस्ता विकट र लेकाली क्षेत्रमा रहेका प्रहरी कार्यालयमा ड्युटी गर्न अत्यन्तै कष्टकर छ ।

सीमामा प्रहरी पुग्दा नागरिकले सुरक्षा महसुस त गरेका छन् तर पूर्वाधार र स्रोतसाधन नहुँदा समस्या भएको हो ।सीमामा सुरक्षाकर्मी खटाएपछि आपराधिक गतिविधि र भारतीय सीमा प्रहरीको नेपालतर्फ हैकमसमेत कम भएको छ तर नेपाली सुरक्षाकर्मीको आफ्नै समस्याले गर्दा पर्याप्त सुरक्षा दिन सकिएको छैन ।

यस्तै प्रदेश नं १ का आर्थिक मामिला तथा आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले पनि सुरक्षामा खटिएका प्रहरीलाई सुविधामा वञ्चित हुन नदिने बताए पनि कार्यान्वयन हुन सकेको छैन ।

नेपाल–भारत सीमा क्षेत्रको इलामले छोएको साढे ५२ किलोमिटर सिमानामा सात वटा सशस्त्र प्रहरीको बीओपी स्थापना भएका छन् ।इलामले छोएको दशगजा र आसपासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २६ बीओपी र एउटा प्रहरी चेकपोस्ट छ ।

सीमा क्षेत्र सुरक्षाकै लागि भारतपट्टि दुई÷दुई किलोमिटरमा बीओपी रहेका छन् ।भारतको तुलनामा नेपालतर्फको सुरक्षा कमजोर छ तर पछिल्लो समय सरकारले बढाएको सुरक्षाले सीमावर्ती नागरिकले धेरै सुरक्षा महसुस गरेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.