अर्जुन गाहा (सुशान्त),
पोखरा /ताण्डव न्यूज ।
दोस्रो चलचित्रको रुपमा ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा बनेको गुरुङ चलचित्र शिरसुबाको घान्द्रुकबाट औपचारिक प्रदर्शन सुरुवात भएको छ ।
गुरुङ समुदायको संस्कार–संस्कृतिमा आधारित व्यक्तिको सुवासेली (मिजाज) लाई केन्द्रमा राखी निर्मित चलचित्र शिरसुबा आईतबार घान्द्रुक समुदाय माझ प्रर्दशन गरेसँगै औपचारिक रुपमा प्रर्दशन सुरु भएको हो ।

चलचित्रका बजार व्यवस्थापक अमृत लामा गुरुङले पहिलो पटक घान्द्रुक समुदायमाझ (मेश्रम बराह मा.वि प्राङ्गण) आईतबार बेलुकी ७ बजे प्रदर्शन गरेको बताउदै औपचारिक रुपमा प्रदर्शन सुरु भएको बताए । उनले उक्त चलचित्र घान्द्रुक पश्चात आसपासका गाउँ पोखरा हुदै विदेशमा समेत प्रर्दशन गरिने बताए ।
गुरुङले कास्कीको पर्यटकीय गाउँ घान्द्रुकको सेरोफेरोमा अधिकांश छायांकन गरिएकोले पहिलो प्राथमिकतामा राखेर सो गाउँमा प्रदर्शन गरिएको जानकारी दिए । उनका अनुसार उक्त चलचित्र प्रर्दशनमा घान्द्रुक गाउँका ३ सय बढि स्थानीयको सहभागिता रहेको थियो ।
८० प्रतिशत गुरुङ भाषाको प्रयोग गरिएको सो चलचिलको कथा निर्माता स्वयम् विमल गुरुङको रहेको छ भने पटकथा र निर्देशन माओत्से गुरुङको रहेको छ ।
उक्त चलचित्रको मुख्य भुमिकामा स्याङ्जाका विश्वास गुरुङ, चितवनकी ‘मिस चितवन’ सुमन गुरुङ, किम्रोङखोलाका सुमित गुरुङ र छोम्रोङकी प्रिति गुरुङलाई देख्न पाईन्छ भने अन्य कलाकारको रुपमा अग्रज नायक सोम गुरुङ, डिबी गुरुङ, आईतराम गुरुङ, अन्जु गुरुङ, टिकाराम घले, रविता, गुरुङ, अंशु गुरुङ विरवल गुरुङ, राजेन्द्र थापा, रजनी गुरुङ, सुरज गुरुङ लगायतको अभिनय रहेको छ । उक्त चलचित्र शुशान प्रजापतीले छायांकन गरेका छन् ।
घान्द्रुकमा पहिलो पटक प्रर्दशन भएपश्चात बेलायत रहेका निर्माता विमल गुरुङले चलिचित्र टिमसँगै घान्द्रुकबासीलाई धन्यवाद व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा चलचित्र प्रदर्शनको तस्विरहरु पोस्ट गर्दै लेखेका छन्, ‘ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको प्रस्तुती गुरुङ कथानक चलचित्र ‘शिरसुबा’ को पहिलो प्रदर्शन भव्य र सभ्य रुपमा सम्पन्न पार्न घान्द्रुकको त्यो चिसो मौसममा खुल्ला अकाश मुनी बसेर फिल्म हेर्न उपस्थित सम्पुर्ण घान्द्रुकबासी वुबा आमा, दाजुभाई तथा दिदी बहिनीहरु लाई धेरै धेरै धन्यबाद ।’
निर्माता गुरुङले अझ थपेका छन्, ‘कोरोनाले गर्दा १० महिना लकडाउनमा रहेको घान्द्रुकमा हामीले चलचित्र प्रदर्शनमा कुनै आर्थिक आपेक्षा नराखेको जानकारी गराउदाँ गराउदै पनि चलचित्र हेरी खुशी भई हामीलाई हौसलाको रुपमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौ ।’
गुरुङ चलचित्र भ्रें को मुनाफाबाट ५ लाख सामुदायिक भवनलाई
ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा बनेको पहिलो गुरुङ कथानक चलचित्र ‘भ्रें’ को मुनाफाबाट ५ लाख रुपैया निर्माणाधिन रोधी क्लब सामुदायिक भवनलाई सहयोग गरिएको छ ।
चलचित्र निर्माताहरु युक्तमान गुरुङ (मोफसल), शरद गुरुङ (कालु), स्वर्ग गुरुङ र विमल गुरुङको निर्णयमा घान्द्रुकमा निर्माणाधिन सामुदायिक भवनलाई प्रोडक्शन म्यानेजर अमृत गुरुङको नेतृत्वमा आईतबार आर्थिक सहयोग गरेको हो ।
चलचित्रका प्रोडक्शन म्यानेजर अमृत गुरुङले निर्माताहरु बाह्य मुलुकमा रहेको बताउदँै आफुहरुको रोहवरमा सहयोग गरेको बताए । ‘फिल्म बन्नुभन्दा पहिले नै उहाँहरुको निर्णय अनुसार नै आफ्नै गाउँमा सहयोग गर्ने भन्ने थियो, गुरुङले भने, ‘सोही अनुरुप नै मुनाफा रकमबाट बन्दै गरेको हललाई सहयोग गर्नुभएको हो ।’
सहयोग रकम ग्रहण गर्दै रोधि क्लब घान्द्रुकका अध्यक्ष पूर्ण प्रसाद गुरुङले भ्रें चलचित्र निर्माता लगायत सम्पूर्ण टिमलाई धन्यवाद प्रकट गरेका थिए ।
सम्बन्धित समाचार
प्रतिक्षामा गुरुङ चलचित्र ‘शिरसुबा’
गुरुङ चलचित्र ‘शिरसुबा’ अन्तिम चरणमा, कोरोना कहरको अन्त्यसँगै प्रदर्शनमा आउने
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.