www.tandavnews.com
Fact ~ In search of truth

अयोध्याधाम बनाउन राम र सीताको मूर्ति निर्माण

चितवन ।

माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ ।

चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका माडी निवासी नेकपा चितवनका सल्लाहकार श्याम विष्टले राम र सीताको मूर्ति तयार भएर बालुवाटार प्रधानमन्त्रीको सचिवालयमा राखिएको बताए ।

Batas

उनले हनुमान र लक्ष्मणको बन्दै गरेको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार गरिएको छ ।

दुवै मूर्ति तयार गरेर बालुवाटारमा राखिएको छ ।’ नेता विष्टले आगामी वर्षको रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गरिने योजना रहेको जानकारी दिए । माडीका स्थानीय नेतासँगको भेटमा प्रधानमन्त्रीले आफैँ तयारी अवस्थामा रहेको राम र सीताको मूर्ति देखाएका थिए ।

प्रधानमन्त्री ओलीले माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत् गुरुयोजना बनिसकेको र राम सीताको मूर्ति तयार भइसकेको बताएका थिए । ‘अयोध्यापुरी अब विश्वभरका हिन्दू, संस्कृतिविद्, पुरातत्वविद्, सभ्यताविद्को गन्तव्यस्थान हुनेछ, पर्यटकीयस्थल हुनेछ ।

धेरै तीर्थालु भक्तजनको त्यहाँ गन्तव्यस्थल हुनेछ’, उनले भनेका थिए, ‘हामी रिउअर्थात सरियू नदी त्यसको व्यवस्थापन, पुलहरूको व्यवस्थापन, नदीहरूको तटबन्धको व्यवस्थापन आदि गर्नेछौँ । मैले भनी राख्नुपर्लाजस्तो लाग्दैन यो भूमि असाधारण सम्भावना बोकेको भूमि हो ।’ उनले माडीमा अयोध्याधाम बनाउन स्थानीय क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिले भने खासै चासो नदिएको बताएका थिए ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडी–९ को कृष्णनगर पार्कमा राख्ने गरी १०० बिघा जग्गासहित अयोध्याधाम बनाउन सिफारिस गरिएको तर कुनै निर्णय नभएको बताए । उनले औपचारिकरूपमा अयोध्याधाम पनि घोषणा हुन बाँकी रहेको जानकारी दिए। उनले भने, ‘राम मन्दिरसँगै सुकुम्वासी, चेपाङको घर बनाउन पनि प्रस्ताव गरेका छौँ ।’

नेकपा भरतपुरका अध्यक्ष राम न्यौपानेले आफूहरुले काठमाडौँ जाँदा राम र सीताको मूर्तिबारे जानकारी लिएर आएको बताए । उनले भने, ‘राम मन्दिर कहाँ बनाएर मूर्ति कता प्रतिस्थापन गर्ने भन्नेबारेमा पुरातत्व विभागले थप अध्ययन गरिरहेको छ । माडी नगरपालिकामा पनि यसबारेमा छलफल हुँदैछ । प्रधानमन्त्री माडीमा अयोध्याधाम बनाउन दृढरूपमा लागेको हामीले पाएका छौँ ।’

नेकपाको ओली समूहका नेत्री पार्वती रावलले प्रधानमन्त्रीले केही दिनभित्रैमा हनुमान र लक्ष्मणको मूर्ति पनि तयार पार्ने र संस्कृति, पर्यटन मन्त्रालयसँग छलफल गरेर काम अघि बढाउने तयारी गरेको बताए ।‘राम मन्दिर बन्न लागेको क्षेत्रका जनप्रतिनिधिसँगै म पनि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थिएँ । उहाँ अब द्रुत गतिमा काम अघि बढाउनुपर्छ भन्नेमा हुनुहुन्छ’, रावलले भने, ‘चितवनको जनसभामा घोषणा गरेअनुरूप नै प्रधानमन्त्री लाग्नुभएको छ ।’

रावलका अनुसार उक्त मूर्ति प्रधानमन्त्रीले आफ्नै खर्चमा तयार पार्नुभएको हो । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिसमेत रहेका रावलले चितवनमा अयोध्याधाम बनाउन लागिएको विषय आफ्नो कार्यक्षेत्रअन्तर्गत पनि पर्ने भएकाले सरोकारवाला निकायसँग छिट्टै छलफलमा जुट्ने तयारी भएको बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.