www.tandavnews.com
Fact ~ In search of truth

नवलपुरमा एघार हजार मतदाता थपिए

नवलपरासी ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा एघार हजार बढी मतदाता थपिएका छन् । ‘नवलपुर’मा गत निर्वाचन भन्दा ११ हजार ४०९ नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख ओमनारायण शर्माका अनुसार गत निर्वाचनका समयमा नवलपुरमा कूल दुई लाख २१ हजार ७१४ जना मतदाता रहेका थिए । नयाँ मतदाता थपिएसँगै यो संख्या बढेर हाल कूल मतदाता संख्या दुई लाख ३३ हजार १२३ पुगेको हो ।

Batas

नवलपुरमा हाल एक लाख २३ हजार ५५२ महिला, एक लाख नौ हजार ५६७ पुरुष र तेस्रो लिङ्गी चार मतदाता रहेका छन् । यही माघ १६ र १७ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिएको थियो । मृत्यु भएका, बसाइँसराइ गरेका, नागरिकता त्याग गरेका, नागरिकता रद्द भएकालगायतका मतदाताको संख्या घट्ने उनले बताए ।

नवलपुरमा अद्यावधिकबाट करीब ३० मात्रै मतदाता घट्नसक्ने देखिएको कार्यालयले जनाएको छ । मृत्यु भएकाको नामावली आए पनि नागरिकता नम्बरसहित नआउँदा मतदाता नामावलीबाट नाम हटाउन नसकिने हुँदा कम मात्रमा संख्या घट्ने देखिएको छ ।

मृत्यु भएका व्यक्तिको मतदाता नामावलीबाट नाम हटाउन एकाघरपरिवारका सदस्यले खासै चासो नदिँदा यो संख्या घट्ने अवस्था कम भएको उनले बताए । अद्यावधिकपछिको मतदाता नामावलीको विवरण निर्वाचन आयोगमा पठाइने र आयोगले अन्तिम नामावली पठाएपछि एकिन मतदाताको संख्या थाहा हुने प्रमुख शर्माले जानकारी दिए ।

यस्तै जिल्लामा एउटा नयाँ मतदानस्थल थप हुने भएको छ । केही मतदानस्थल सार्ने तथा केहीको नामावली सच्याइने कार्यालय जनाएको छ । मध्यविन्दु नगरपालिका –१३, नम्बर वडामा पर्ने कोटथर भन्ने स्थानका– ३५० जना मतदाता २५ किलोमिटर एकोहोरो यात्रा गरेर मत हाल्न दुवाकुन भन्ने ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको कारण कोटथरमा रहको कालिका मन्दिर सामुदायिक भवन खोप केन्द्रमा एउटा मतदानस्थल थप गर्ने निर्णय भएको जनाइएको छ ।

यसैगरी हुप्सेकोट गाउँपालिका–४ स्थित साविक गाविस भवनमा रहेको मतदानस्थललाई हुप्सेकोट गाउँपालिकामा सार्ने भएको छ । मध्यविन्दु नगरपालिकामा पर्ने नारायणी स्वास्थ्यचौकीमा रहेको मतदानस्थलमा अहिले वडा कार्यालय स्थापना भएकाले नाम परिवर्तन गर्ने र जिल्लाका विभिन्न स्थानका साविकका केही मतदानस्थलको नाम परिवर्तन गर्नुपर्ने देखिएकाले ती नामलाई परिवर्तन गर्ने समेत निर्णय भएको कार्यालय प्रमुख शर्माले बताए ।

सरकारले निर्वाचनको घोषणा गरेसँगै निर्वाचन कार्यालयले मतदाताको नामावली अद्यावधिक गर्ने काम सकेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.