www.tandavnews.com
Fact ~ In search of truth

दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ गतेदेखि खोप

काठमाडौं ।

सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा .डा .जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप प्रदान गरिने छ ।

Batas

पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप मन्त्रालयको दोस्रो प्राथमिकता परेका तीन लाख व्यक्तिलाई लगाइने उनले बताए । खोप अस्पताल र स्वास्थ्य संघसंस्थाबाट लगाइने भएको छ ।

उनका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सीमा सुरक्षा चौकीमा खटिएका सुरक्षाकर्मी र पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने छ ।

पहिलो चरणको पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजारलाई लगाउने योजना भए पनि एक लाख ८४ हजारले खोप लगाएका छन् । पहिलो चरणबाट बचेको खोप पत्रकार र कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारीलाई यही माघ २६ गतेदेखि लगाउन थालिएको हो । उनीहरुलाई शुक्रबारसम्म लगाइने छ ।

कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । तीमध्ये मन्त्रालयले यही माघ १४ गतेदेखि माघ २४ गतेसम्म पहिलो चरणमा कूल जनसंख्याको तीन प्रतिशतलाई खोप दिनेमध्ये पहिलो प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप प्रदान गरेको थियो । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले दोस्रो चरणका खोप अभियान नयाँ खोप आएपछि मात्र सञ्चालन गरिने बताए । नेपालमा अहिलेसम्म दुई लाख ७२ हजार ३४९ संक्रमित भएका छन् । नेपालमा दुई लाख ६८ हजार ५४९ व्यक्ति निको र दुई हजार ४७ जनाको संक्रमणबाट निधन भएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.