www.tandavnews.com
Fact ~ In search of truth

पशुजन्य उत्पादनमा अनुदान पाएपछि कृषकहरु उत्साहित

पर्वत ।

पर्वतको महाशिला गाउँपलिकाले पशुपालन गर्न ईच्छुक कृषकहरुलाई अनुदान दिएपछि यहाँका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन् ।

युवालाई स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि यहाँका कृषक उत्साहित बनेका हुन् । गाउँपालिकाले दूधमा प्रतिलिटर १० र खसीबोका उत्पादनमा प्रतिकिलो २५ अनुदानको व्यवस्था गरेको छ ।

Batas

गाउँका कुनै पनि कृषकले उत्पादन गरेर निर्यात गर्ने दूध, मासुमा गत वर्षदेखि अनुदानमूलक कार्यक्रम शुरु गरिएको हो । निर्धारित मूल्यमा गाउँपालिकाले प्रोत्साहनस्वरुप अनुदान रकम थप गरेपछि यसतर्फ कृषकको आकर्षणसमेत बढ्दै गएको छ ।

पालिकाले अहिले स्थानीय महाशिला सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत अनुदान वितरण कार्यलाई तीव्रता दिएको छ । महाशिलाका ६ वटै वडाका झण्डै ६४० व्यावसायिक महिला सदस्यहरु रहेको उक्त सहकारी संस्थाका सदस्यहरुले उत्पादन गरेको दूध र खसी, बोकामा गाउँपालिकाले अनुदान रकम उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

गाउँपालिकाको प्रोत्साहन रकम पाएपछि महिला उद्यमी सहकारी संस्थाले उत्पादनमा अनुदान वितरण गर्दै आएको हो । सहकारीले मासिक ४० देखि ५० वटासम्म खसीबोका बिक्री गर्ने गरेको छ । सदस्यहरुले उत्पादन गरेको खसीबोका सहकारीमार्फत बजारमा बिक्रीको प्रबन्ध मिलाइएको छ । प्रतिकेजी जिउँदो ४५० मा सहकारीले खसीबोका बिक्री गर्ने गरेको छ ।

यस वर्ष झण्डै ६ हजार ६०० केजी जिउँदो खसीबोका बिक्री गरेको सहकारीले दूध पनि बिक्री गरिरहेको छ । दैनिक एक हजार लिटर दूध बिक्री गरेको सहकारीले दूध उत्पादन बढाउने गरी योजना निर्माण गरेको सहकारी अध्यक्ष कमला कुस्मेलीले जानकारी दिए ।

स्थानीय उत्पादन संकलन गरेर एकद्वारा प्रणालीमा बजारीकरण गरिरहेको सहकारीमा अहिले पाँच वटै वडाका १७ वटा महिला समूह आबद्ध भएका छन् । झण्डै दुई करोडको कारोवार गर्ने सहकारी गाउँपालिकाको मुख्य सहकारी भएकाले र सबै अधिकांश सदस्यहरु आबद्ध भएकाले गाउँपालिकाले सोही सहकारीमार्फत अनुदान वितरणको प्रक्रिया अघि बढाएको हो ।

यसबाहेक गाउँपालिकाले व्यावसायिक तरकारी र फलफूल खेती गर्नेहरुलाई समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.