www.tandavnews.com
Fact ~ In search of truth

सामुदायिक विकास केन्द्र नेपालमा चरम विवाद

पोखरा
ताण्डव न्यूज ।

पोखराको एक सामुदायिक संस्थामा चरम विवाद उत्पन्न भएको छ । सामुदायिक विकास केन्द्र नेपाल नामको संस्थाका अध्यक्ष शिवराज अधिकारीले मनोमानी ढंगले संस्था सञ्चालन गरेको भन्दै संस्थाका सचिव र सदस्यहरुले चर्को विरोध गरेका हुन् । उनीहरुले संस्थामा भएको अनियमितताको बारेमा जिल्ला प्रशासन कार्यालयलाई समेत पटक–पटक जानकारी गराएका थिए ।

सदस्यहरुलाई छल्दै साधारण सभा गरेको निवर्तमान सचिव विजया सुवेदीले ताण्डव न्यूजलाई बताइन् । “यहि २०७७ चैत १४ गते विहान ११ बजे संस्थाको पोखराको लेकसाईडस्थित टिका रिसोर्टमा साधारणसभा बोलाईएको थियो । तर उक्त दिन दिउँसो १ बजेसम्म पनि साधारणसभा नभएपछि हामीहरु रिसोर्टबाट फर्कियौँ,’ सचिव सुवेदीले भनिन्, ‘तर जिल्ला प्रशासन कार्यालयमा भने सोही मितिमा साधारणसभा गरेको कागजात पेश गरिएको रहेछ ।’

Batas

साधारणसभाका लागि भन्दै उपस्थित भएका संस्थाका निवर्तमान अध्यक्ष प्रमोद कोईराला, निवर्तमान सचिव विजया सुवेदी, सदस्यहरु प्रकाशमणी रेग्मी, शालिकराम लामिछाने र जगन्नाथ पौडेल कार्यक्रम स्थलबाट बाहिरिएका थिए । आफूहरु पोखरा महानगरपालिका वडा नं ६ का वडा सदस्य हरिकृष्ण पहारीको रोहबरमा कार्यक्रमबाट बाहिरिएको सुवेदीले बताईन् ।
उक्त साधारणसभाप्रति आफूहरुको विरोध रहेको संस्थाका साधारण सदस्य जगन्नाथ पौडेलले बताए । किर्ते कागज बनाएर गरिएको साधारणसभाबाट संस्थामा विगतमा भएको आर्थिक अनियमितिता ढाकछोप गर्न खोजेको पुष्टि हुने पौडेलको आरोप छ ।

कार्यक्रम आयोजना गरिएको स्थान ‘टिका रिसोर्ट’का कर्मचारीले समेत आफूहरुलाई उक्त दिन कुनै कार्यक्रम नभएको जानकारी गराएर फर्काइदिएको पौडेलले बताए ।

कपोलकल्पित साधारणसभा बदर गरी संस्थाको भावना, विधि–विधान र जिल्ला प्रशासन कार्यालयले तोकेको मापदण्ड अनुरुप साधारणसभाको पहल गर्न समेत माग गरिएको छ ।

साथै संस्थामा कार्यअवधि पूरा नहुँदै अध्यक्ष पदबाट राजीनामा गरेका प्रमोद कोईरालाको राजीनामा समेत स्वीकृत नहुँदै शिवराज अधिकारी अध्यक्ष बन्नु पनि कानून विपरित रहेको जिल्ला प्रशासन कार्यालयलाई बुझाईएको जानकारी पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी संस्थाको वर्तमान कार्यसमितिमा परिवारबाद र नातागोता हावी भएको आरोप समेत लगाईएको छ । अध्यक्ष शिवराज अधिकारी र उपाध्यक्ष संगिता शर्मा नातामा ज्वाई र श्रीमतीको भाउजुको सम्बन्ध रहेको उल्लेख गरिएको छ । त्यस्तै संस्थाका सचिव गायत्री फुयाँल र कोषाध्यक्ष लिलाबल्लव पोखरेल श्रीमान श्रीमती हुन् । साथै कार्यसमिति सदस्य रमा छन्त्याल टिका रिसोर्टका कर्मचारी हुन् ।

यद्यपी संस्थाका अध्यक्ष शिवराज अधिकारले भने चैत १४ गते तोकिएकै मिति, समय र स्थानमा संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको दावी गरेका छन् । पोखरा महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राजकुमार गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको अधिकारीले ताण्डव न्यूजलाई बताए ।

“साधारणसभा विधिवत रुपमा वडा अध्यक्षको प्रमुख आतिथ्यतामा भएको हो, सदस्यहरुबाट सर्वसम्मत रुपमा निर्णय भएको छ ” अधिकारीले भने “तर जिल्ला प्रशासनले विधिवत होईन भन्छ भने कारवाही भोग्न म तयार छु ।” ७ सदस्यीय कार्य समितिमा २ जना पछि थप गर्न सकिनेगरी नयाँ कार्यसमिति बनाईएको अधिकारीले बताए । “भोलि उहाँहरु आउनुभयो भने ठाउँ दिनुपर्छ भनेर २ जना रिक्त राखेका छौँ” अधिकारीले भने ।

‘संस्थामा नाताबाद हावी छ रे नि ?’ ताण्डव न्यूजको प्रश्नमा अधिकारीले भने “मैले नाताबाद गरेको छैन, विजया जी सदस्य हुने बेलामै मेरो नाताले भाउजू पर्ने संगीता शर्मालाई सदस्यता दिईएको हो यसमा मलाई जोड्न आवश्यक छैन ।” उनले भने “बरु जगन्नाथ जी ले आफू कोषाध्यक्षबाट हटेपछि आफ्नै छोरालाई कोषाध्यक्ष बनाउनुभो ।” जगन्नाथलाई उल्टै संस्थाले कारवाही गर्नुपर्ने आवश्यकता देखिएको अधिकारीले बताए ।

पोखरा महानगरपालिका वडा नं १० मा अवस्थित संस्थाले न्यून आय भएका नागरिकहरुका लागि आवास निर्माणमा सहयोग गर्ने उद्धेश्य सहित सञ्चालनमा आएको हो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.