www.tandavnews.com
Fact ~ In search of truth

नेकपाका केन्द्रीय नेता माइला लामा रिहा

किमाथाङ्का ।

सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा बिहीबार रिहा भएका छन् । सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीबार रिहा भएका हुन् ।

सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो । विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त भएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्ली प्रसाईँले जानकारी दिए । नेता लामा विसं २०७६ साउन ५ गते काठमाडौँबाट पक्राउ परेका हुन् ।

Batas

लामालाई विभिन्न जिल्ला हुँदै सङ्खुवासभा ल्याइएको थियो । जिल्ला अदालत चैनपुरले सङ्गठितरूपमा हातहतियार ओसारपसार, सञ्चय तथा प्रयोग मुद्दामा रु २५ हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत चैनपुर विसं २०७६ फागुन ७ गते कारागार चलान गरेको थियो । विप्लव समूहले आफ्ना नेता–कार्यकर्ता रिहा गर्ने सहमति पालना नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो ।

नेता मालालाई परिवारको जिम्मामा छाडिएको छ । नेता लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासङ्घको अध्यक्षसमेत थिए । तर पार्टी विभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए । माओवादी जनयुद्धको क्रममा उनका हातका केही औँलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ । उनले सयौँ क्रान्तिकारी गीत गाएका छन् । उनले सङ्गीत दिएका धेरै गीतमध्ये नेत्रविक्रम चन्द (विप्लव) को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित मानिन्छ ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.