www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभाः खोपमा दुर्गम क्षेत्र र मजदूरलाई प्राथमिकता दिन माग

काठमाडौं ।

राष्ट्रियसभाका सदस्यले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत उपलब्ध गराउन तथा कोभिड–१९ संक्रमण रोकथामका लागि सबै नागरिकलाई यथाशीघ्र खोप सुनिश्चित गराउन सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा (एमाले)की दीपा गुरुङले सबै नागरिकलाई यथाशीघ्र खोप उपलब्ध गराउन माग गरे । उनले वर्षाका कारण मुलुकका विभिन्न भेगमा बाढीपहिराका घटनापछि हुने उद्धार, राहतका साथै सडक यातायात खुलाउन तीनै तहका सरकारको संयुक्त प्रयासको खाँचो औँल्याए ।

Batas

सोही दलकी शारदादेवी भट्टले मुलुकको तराई भेगका अधिकांश क्षेत्र डुबानमा परेर बालीनालीको क्षति भएकाले किसानलाई उचित क्षतिपूर्ति दिलाउन माग गरे । उनले कैलालीमा तीनवर्षीय विवेक विष्टका हत्यामा संलग्नलाई कानूनी कारवाहीको माग गरे । एमालेकै कविता बोगटीले सरकारले खोपको पहल गरेर सराहनीय काम गरेको बताए ।

सोही दलकी विमला घिमिरेले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने मजदूरलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न माग गरे । एमालेकी नन्दा चपाईँले कोरोना रोगविरुद्धको खोप लगाउन दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकता दिन अनुरोध गरे । सोही दलका नरपति लोहारले बाढीपीडित जनताका लागि तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरे ।

नेपाली कांग्रेसका प्रकाश पन्थले जनताले अपेक्षा गरेअनुरुप जनप्रतिनिधिले भूमिका निर्वाह गर्न नसकेकोे जनाउँदै राष्ट्रियसभाको कामकारवाही अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए । नेकपा (माओवादी केन्द्र)का जीवन बुढाले राष्ट्रियसभालाई कानून निर्माण तथा विचार निर्माण गर्ने थलो बनाउनुपर्ने बताए ।

सोही दलका महेशकुमार महराले मुलुकमा शान्तिसुरक्षाको कमजोर व्यवस्थापनका कारण पछिल्लो समय हत्याहिंसा र बलात्कारका घट्ना बढेको भनी चिन्ता व्यक्त गरे । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.