www.tandavnews.com
Fact ~ In search of truth

बाढी प्रभावित मनाङवासीलाई प्रचण्डको आश्वासनः ‘गठबन्धन सरकार तपाईहरुको साथमा छ, पुनःनिर्माणमा गम्भीर छौँ

मनाङ ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी र पहिरोले मारमा परेका मनाङबासीको साथमा राज्य रहेको बताएका छन् ।

बाढी र पहिरोले मनाङमा पुगेको क्षतिको विवरण संकलन र स्थलगत निरीक्षणका लागि हिजो (शनिबार) मनाङ पुगेका प्रचण्डले राज्य मनाङवासीको साथमा रहेको र र आफूहरु पुनःनिर्माणमा गम्भीर रहेको बताए ।

Batas

अध्यक्ष प्रचण्डले मनाङमा बाढीपहिरोका कारण भएको क्षति हृदयविदारक भएको आफूले महसुस गरेको उल्लेख गर्दै भौगर्भिक अध्ययन आवश्यक रहेको बताए ।

उनले भने, ‘भूक्षय नियन्त्रण गर्न भौगर्भिक अध्ययनका लागि नयाँ शिराबाट सोच्नुपर्ने अवस्थाको सङ्केत गरेको छ ।’ विपद्लाई टालुटुल गरेर मात्र नियन्त्रण नसकिने बताउँदै प्रचण्डले दीर्घकालीन ढङ्गबाट एकीकृत परियोजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

विश्वमा नै जलवायु परिवर्तनको मुद्दा जटिल बन्दै गएको उल्लेख गर्दै उनले भने, ‘जलवायु प्रभावित गर्ने काम धनी राष्ट्रका उद्योगधन्दामार्फत निस्कने रसायनका कारण साना देशमा मार पर्ने गरेको छ । यो नेपालको मात्र होइन, विश्वव्यापी समस्या हो ।’ पूर्वप्रधानमन्त्री प्रचण्डले विश्व मञ्चहरूमा यस्ता विषयलाई अझ बढी उठाउनुपर्ने बताउँदै भने, ‘हिमाल पग्लने क्रम जुन गतिमा बढेको छ, त्यो कारणले यहाँ मात्र भएको होइन, विश्वव्यापी विकासको मोडेल नै नयाँ तवरले अपनाउनुपर्ने देखिएको छ ।’

मानव जातिको सुरक्षालाई प्राथमिकता दिएर मात्र विकासका मोडेल ल्याउनुपर्ने आवश्यकता खट्किएको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले भने, ‘राज्य तपाईँहरूको साथमा छ, राहत र पुनःनिर्माणमा हामी गम्भीर छौँ ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.