www.tandavnews.com
Fact ~ In search of truth

बागलुङः अलैँचीमा डढुवा लाग्यो, किसान चिन्तित

बागलुङ ।

बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित छन् । डढुवा रोगका कारण बारीभरिका अलैँचीका बोट सुकेपछि किसान चिन्तित बनेका हुन् ।

धान, मकै, कोदो रोप्न छोडेर नगदे बालीका रूपमा लगाइएको अलैँची खेतीमा समेत मासिने गरी रोग लागेको हो । बोटमा रोग लागेपछि त्यसबाट हुने उत्पादन शून्यमा झर्ने किसानको भनाइ छ । जैमिनी–२ र ३ मा गरी अलैँचीका दुई वटा पकेट क्षेत्र बनाइएको थियो । स्थानीय वेद छन्त्यालले दुईवटै क्षेत्रमा रहेको अलैँची सुक्दै गएपछि किसान मर्कामा परेको बताए ।

Batas

केही समयदेखि अलैँची सुक्दै गइरहेको जानकारी दिँदै छन्त्यालले रोगका कारण अलैँचीको बोट सुक्दै गएपछि किसानमा ठूलो चिन्ता छाएको र कतिपय किसानले त अलैँचीको गाँज नै उखेलेर फाल्न थालेको बताए ।

यस्तो समस्या गत पुस महिनादेखि सुरु भएको छन्त्यालको भनाइ छ । त्यस क्षेत्रमा करिब पाँच प्रतिशत मात्र अलैँचीको बोट राम्रो रहेको उनले बताए । अघिल्लो वर्ष अलैँची बेचेर पकेट क्षेत्रका नागरिकले करिब ४५ लाख आम्दानी गर्न सफल भए पनि अहिले भने त्यो नहुने भएपछि किसान चिन्तित बनेका छन् ।

दुई वटा पकेट क्षेत्र गरी करिब दुई हजार ४०० रोपनी जग्गामा अलैँची लगाइएको छ । अलैँची पकेट क्षेत्रका अध्यक्ष लोकेन्द्र सापकोटाले रोगको पहिचान नै हुन नसकेका कारण किसान चिन्तित बनेको बताए ।

खासगरी अलैँचीमा लाग्ने रोग, त्यसको निदानको बारेमा किसानलाई सचेत नगराई व्यावसायिकरूपमा अलैँची उत्पादन गर्दा किसानले समस्या झेल्नुपरेको उनको बुझाइ रहेको छ । किसानको समस्याबारे कृषि ज्ञान केन्द्रले समेत वास्ता नगरेको उनको भनाइ थियो ।

यसबारेमा कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले त्यसबारे रिपोर्ट नआएको बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.