www.tandavnews.com
Fact ~ In search of truth

दुई महिनापछि बल्यो मादीका ६५० घरमा बिजुली

कास्की ।

कास्कीको मादी गाउँपालिका–१ मा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली पुर्याइएको छ । पर्यटकीय गन्तव्यसमेत रहेको सिक्लेससहित मादी–१ का पार्चे र खिलाङ गाउँका ६५० घरधुरी असार १ देखि अन्धकारमा रात गुजार्न बाध्य थिए ।

सुरुआतमा स्थानीय लघुजलविद्युत् र पछि सिक्लेस हाइड्रोबाट गाउँमा बिजुली बत्ती बाल्दै आएका गाउँले मादीको सहायक ङच नदीमा गत असार १ गते राति आएको बाढीले क्षति पुर्याएकाले अँध्यारोमै बस्दै आएकामा शनिबारदेखि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणको बिजुली उपलब्ध गराइएकोे हो ।

Batas

गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले शनिबार सामुहिक मिटर बक्सको स्वीचअन गरी लाइनको शुभारम्भ गरेका थिए । सबै घरमा मिटर जडान गर्न समय लाग्ने भएकाले तत्कालका लागि एउटा सामूहिक मिटर राखेर पुरानो संरचनाबाट ६५० घरमा नै बिजुली बालिएको उनको भनाइ थियो ।

उनले भने, “बाढीले क्षति पु¥याएकाले दुई महिना जनताले दुःख पाए पनि शनिवारदेखि विद्युत् प्राधिकरणसँगको समन्वयमा सिक्लेस, पार्चे तथा खिलाङ गाउँमा केन्द्रीय प्रसारणको बिजुली पुगेको छ । सबैको निरन्तरको मेहेनत र सहकार्यबाट गाउँमा बत्ती बाल्न सफल भएका छौँ ।”

बिजुली अभावमा लामो समय वडा कार्यालय, बैंक, सहकारी, एक्याप कार्यालयको सेवा प्रवाहमा असर परेको थियो । गाउँमा मोबाइल चार्जको समेत समस्याले सञ्चार सम्पर्क गर्नसमेत कठिनाइ भएको थियो । बाढीले मादी नदी किनारमा निर्माणाधीन र सम्पन्न भएका गरी आधा दर्जन जलविद्युत् आयोजनामा क्षति पु¥याएको थियो ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.