www.tandavnews.com
Fact ~ In search of truth

कोपिला हत्या प्रकरणः फक्रिन नपाउँदै चुडालियाे

हत्यारा खवास आफैंले प्रहरी बोलाउन भनेका थिए

अर्जुन गाहा (सुशान्त)

जिल्ला प्रहरी कार्यालय कास्कीले कोपिला परियारको बलात्कारपछि हत्या गरेको अभियोग लागेका पदमबहादुर थापा (मोटे) भनेर चिनिने खड्कबहादुर खवासलाई सार्वजनिक गरेको छ ।

कास्कीको मादी गाउँपालिका ९ सिप्लीवेसीका १७ वर्षीया किशोरी कोपिलाको हत्या गरी फरार रहेका हरिनास गाउँपालिका ६ चालिसे स्याङ्जाका ४५ वर्षीय खड्कबहादुर खवासलाई सोमबार सार्वजनिक गरेको हो । खवासलाई आइतबार पुतलीबजार नगरपालिका वडा ४ शिवमन्दिर चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले बताए । उनका अनुसार खवासले गत वर्षको असार १५ गते मादी गाउँपालिका ११ पातीघारीमा किशोरीको बलात्कार पछि हत्या गरेका थिए ।

Batas

उपरिक्षक थापाका अनुसार किशोरीको शव १० दिनपछि (२०७७ असार २५ गते) मात्रै भेटिएको थियो । मृतक किशोरी मादी गाउँपालिका १० मकैखोलामा मामाघर हजुरआमा पुतली दमैसँग बस्दै आएकी थिइन् ।

बलात्कारपछि हत्या गरेको अभियोग लागेका खड्कबहादुर खवासले दिएकाे भिडियो बयान

फक्रिन नपाउँदै चुडालियाे कोपिला

१७ वर्षीया कोपिला परियार सुस्तमनस्थितिकी थिइन् । त्यसका पछाडि कैयौं कथा र व्यथा छन् । उनकी आमा सीता दमै अर्कै पुरुषसँग बसेका छन् भने बुबा भीमबहादुर परियारले अर्कै श्रीमती लिएर विदेशमै बसेका छन् । त्यसैले उनी हजुरआमा (पुतली दमै) सँगै बस्थिन् । अविभावकत्व नपाएकाले उनले जम्मा ४ कक्षा मात्रै पढेकी थिइन् ।

केही समय उनलाई कोपिला नेपालले आश्रय दिएर राखे पनि उनको स्वभावका कारण फेरि हजुरआमाकै जिम्मा लगाइयो । मौरीखोलामा उनको दैनिकी फेरि पहिलेजसरी बित्न थाल्यो । साथीहरुसँग खेल्ने । खोलामा पौडी खेल्न जाने ।

यतिमात्र नभएर उनी निर्माणाधीन विद्यालय पुगिरहन्थे । मौरीखोलामा जनकल्याण माविको भवन निर्माण हुँदै थियो । भवन निर्माणमा अन्यत्र स्थानका ठेकेदार तथा मजदुरहरु हुने नै भए । सोही मजदुरहरु मध्ये एक थिए, पदमबहादुर थापा (मोटे) । उनलाई त्यहाँका बासिन्दाले मोटे भनेर चिने पनि उनको असली नाम भने खड्कबहादुर खवास रहेको कास्की प्रहरीले पुष्टि गरेको छ ।

कास्की प्रहरीका अनुसार कोपिला मामाघर बस्दै आएको भए पनि गाउँ डुलिरहन्थिन् र निर्माणाधीन स्कुलमा पुगिरहन्थे । खड्कबहादुरसँग जिस्किन्थे, बोलिरहन्थे । करिब १ महिनामै कोपिला र मोटे भनेर चिनिने खड्कबहादुरसँगको सम्बन्ध बाक्लियो भेटघाट झाङ्गिँदै गयो ।

तर चिनजान भएको १ महिना नबित्दै कोपिलालाई खड्कबहादुरले कहिल्यै नफक्रिने गरी निमोठिदिए । कोपिलालाई फक्रिँन नदिनुको रहस्य बुझ्न भने असार १५ फर्किनै पर्छ ।

विवाहको दबाबपछि हत्या

गाउँको सडकमाथि स्कुल छ । अलि पर पानीपधेंरो छ । पधेंरो पर खोला छ । खोला गाउँको बालबालिका खेल्ने पार्क जस्तै थियो । नुहाउन र पौडी खेल्न गाउँका प्राय सबै बालबालिका त्यहाँ पुग्छन् । कोपिलाको नजिकै रहेको गाउँको किसान परियारको छोरी लक्ष्मी परियारसँग राम्रो सम्बन्ध थियो । लक्ष्मी कोपिलाको मिल्ने साथी हुन् । खोला जाँदा प्राय यी २ सँगै हुन्थे ।

२०७७ असार १५ गते कोपिलाले हजुरआमा पुतलीसँग २ सय रुपैयाँ मागिन् । हजुरआमाले नदिएपछि घरबाट निस्केर हिँडिन् । करिब साढे १२ बजे स्थानीय विष्णुमाया भुजेलले पधेंरो नजिक प्याजी रङको कुर्था र हरियो सुरुवालमा कोपिलालाई भेटेकी थिइन् । त्यसपछि १ बजेतिर गाउँका एन्जिना परियार, आषिश परियारलगायतका केटाकेटीसँग खोलामा हुल बाँधेर गईन ।

करिब १ घन्टा सबैजना सँगै खोलामा पौडी खेले । २ बजेपछि कोपिलाले अरुलाई घर पठाईन् । आफू पनि केही परसम्म गइन् तर फेरि उनी खोलातिरै फर्किइन् । त्यसपछि उनको भेट खड्कबहादुरसँग भयो । सदा झंै उनीहरु खोलापारी गोरेटो बाटोमाथि लागे । शारीरिक सम्बन्ध भयो । त्यसपछि मलाई विवाह गर्नुपर्छ भनेर कोपिलाले खड्कबहादुरलाई भने । तर खड्कबहादुरले कोपिलाकै सलले पासो लगाएर उनको हत्या गरे । त्यसपछि उनी खोला, पानी पधेंरो हुँदै स्कुल फर्किए ।

शव फेला परेपछि आफैंले प्रहरी बोलाउन भनेका थिए खड्कबहादुरले

कोपिलाको हत्या भएको १० दिनपछि मात्रै शव फेलापर्यो । स्थानीय सुरेश गुरुङले गोरु चराउन जाँदा कोपिलाको शव देखेपछि गाउँलेलाई खबर गरेका थिए । यसअघि गाउँमा कोपिला हराएको भन्दै हल्ला चलेको थियो ।

त्यसपछि गाउँलेहरु भेला भए । भेलामा अभियुक्त खड्कबहादुर पनि थिए । कास्की प्रहरीका अनुसार खड्कबहादुरले नै यस्तो भएपछि पुलिसलाई बोलाउनपर्छ भनेका थिए । त्यसपछि कोपिलाको अत्योष्टिमा समेत खड्कबहादुर गएका थिए ।

हामीले त पहिल्यै मोटे नै हो भनेका थियौंः हजुरआमा पुतली

मृतक कोपिलाको हजरआमा पुतली दमैले ताण्डव न्युजसँग कुरा गर्दै कोपिलाको हत्यारा खड्कबहादुर (मोटे) नै रहेको प्रहरीलाई बताए पनि उनीहरुले वास्ता नगरेको बताइन् ।

‘हामीले भन्दाखेरी कसैले पनि पत्याउनु भएन । यही (कास्की प्रहरी कार्यालय) आएर पनि हामीले भन्यौं । पितृ बोलाएर पनि त्यसैले मारेको हो रे भन्दाखेरी हामीले मिसिनमा हाल्यौ (भिसेरा परिक्षण) । त्यो पनि होइन हामीले अनुसन्धान गर्दैछौ भनेर यहाँ ख्ुट्टा टेक्नै दिनुभएन पुलिसले । हामी फर्किएर गयाैं, उनले भनिन्, ‘हामीले त बारम्बार सोध्दा त्यही हो भनेका हौ । त्यो केटा तुनामुनाको मान्छे रैछ । दिनदिनै चाउचाउ र बिस्कुट किनेर दिने रैछ । आखिर मारेको त्यसैले त रैछ ।’

बिहे गर भनेर टर्चर दिएपछि मारे

खड्कबहादुरले जिल्ला प्रहरी कास्कीलाई दिएको बयानमा विवाह गर्न टर्चर दिएपछि कोपिलाको हत्या गरेको बताएका छन् । भिडियो बयानमै खड्कबहादुरले घटनाक्रमलाई व्याख्या गरेका छन् । सोही क्रममा उनले भनेका छन्, हात समाएर पहिला १ झापड हाने ऊ ढल्यो, रोयो त्यसपछि उसकै सल बेरिदिए ।’

उनले उक्त घटनामा आफू बाहेक अरु कसैको संलग्नता नरहेको समेत स्पष्ट पारेका छन् । कोपिलालाई मार्नुपर्ने कारण के थियो भन्ने प्रश्नमा, खड्कबहादुर भन्छन्, ‘कारण भनेको उसले चाहिँ सधैंका लागि लग भनेर दबाब गथ्र्याे ।’

उनले उक्त भिडियो बयानका क्रममा कास्की प्रहरीले, अहिले तपाइंले जे बताइरहनु भएको छ, यसमा प्रहरीको दबाब, यातना केही छ ? भन्ने प्रश्नमा, ‘छैन सर’ भनी प्रष्ट पारेका छन् । कास्की प्रहरीका अनुसार खड्कबहादुरको पहिल्यै २ वटा श्रीमती छन् ।

के हुन्छ कारवाही ?

कोपिलाको हत्या स्वीकारेका खड्कबहादुरलाई कर्तव्य ज्यानमार्ने उद्योग, तथा करणी सम्बन्धि कसुरमा कारवाही हुने कास्की प्रहरी प्रमुख रमेश थापाले बताए । उनका अनुसार खड्कबहादुरलाई कारवाहीको प्रक्रिया अघि बढेको छ ।

कोपिला हत्या प्रकरणमा जबरजस्ती करणी पश्चात् हत्या भएकाले मुलुकी अपराधसंहिता २०७४ को दफा १०० (१) बमोजिम ज्यान सम्बन्धि कसुर, दफा २१९ (१) र (३) (घ) बमोजिम करणी सम्बन्धि कसुर, दफा ३८ (ब) अनुसार मृतक सुस्त मनस्थिति रहेकाले उक्त कसुर र दफा ४१ (च) अन्तर्गत जबरजस्ती करणी पश्चात् हत्या भएकाले जीवित रहेसम्म कैद गर्नुपर्ने प्रावधान रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.