www.tandavnews.com
Fact ~ In search of truth

बाढीले कार्यालय विस्थापित भएपछि मनाङ नासों गाउँपालिकाको सेवा प्रवाह अब धारापानीबाट

मनाङको नासों गाउँपालिकाले धारापानीबाट सेवा दिन थालेको छ । गत असार १ गते आएको बाढीपहिराका कारण उच्च जोखिममा परेपछि सो गाउँपालिकाको कार्यालय विस्थापित भएको थियो । त्यसपछि गाउँपालिकाले छिमेकी जिल्ला लमजुङको बेंसीसहरमा अस्थायी कार्यालय स्थापना गरेर अत्यावश्यक सेवा प्रवाह गर्दै आएको थियो ।

मर्स्याङ्दी नदीको सतह घटेपछि अहिले गाउँपालिकाले वडा नं ३ को धारापानीस्थित कार्यालयबाट सेवा प्रवाह गर्न थालेको छ । विस्थापित भएको गाउँपालिकाको सेवा धारापानीबाटै थालिएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । ‘गाउँपालिकाको भवन बाढीले पूर्ण रुपमा बगाएको छ । तर, वडा नं ३ को कार्यालयमा नै गाउँपालिकाको कार्यालय राखेर सेवा दिन थालेका हौं । यसले स्थानीयबासीलाई सेवा लिन र दिन पनि सहज भएको छ’, उनले भने, ‘जिल्लासँग जोड्ने सडक सञ्जाल अझैसम्म बन्न सकेको छैन । जोखिम मोलेर स्थानीयबासी सेवा लिन लमजुङ पुग्नुपर्ने समस्याले चिन्तित थियौं । नदीमा पानीको सतह घटेपछि जिल्लामै कार्यालय स्थानान्तरण गरेर सेवा प्रवाह गर्न थालेका छौं ।’

विद्युत् आपूर्ति सहज नभएको अवस्थामा पनि पालिकाले सौर्य ऊर्जाको प्रयोगबाट सेवा प्रवाह गर्दै आएको उनले बताए । बाढीपहिराले गाउँपालिकाको कार्यालयमा रहेका सबै कागजात बगाए पनि प्रविधिले आवश्यक तथ्यांक सुरक्षित रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीले बताए । उनले भने, ‘बाढीले सम्पूर्ण कागजात बगाए पनि प्रविधिको प्रयोगले सुरक्षित छ । प्रविधिको प्रयोग नभएको भए विगतका पुराना तथ्यांकबिना काम गर्न सकिँदैन थियो, यसले हामीलाई सहज बनाएको छ ।’

Batas

गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले धारापानीस्थित नासों गाउँपालिकाको कार्यालयसँगै रहेको प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सीमा प्रहरीचौकी, पर्यटकीय होटलसहित स्थानीयबासीका केही घर बगाएको थियो ।

गाउँपालिकामा बिजुली, सञ्चार, इन्टरनेट नहुँदा जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीबीच सम्पर्कविच्छेद भएको थियो । ‘एक ठाउँबाट अर्को ठाउँमा पुग्ने बाटो, पुल सबै बाढीले बगाएको छ, मान्छे हिँड्ने बाटो केही ठाउँमा स्थानीयबासीले बनाएका छन्,’ उनले भने, ‘अझै पनि विद्युत्, सञ्चारलगायतका आवश्यक सेवाबाट स्थानीयबासी बञ्चित छन् ।’

मनाङको केही स्थानमा सडक सञ्जाल निर्माण थालिएको छ । छिमेकी जिल्ला लमजुङबाट माथिल्लो सडकको ३५ किलोमिटरमा यातायात सुचारु भइसकेको छ । त्यस्तै मनाङको मेरुदण्ड मानिने बेंसीसहर–चामे–माथिल्लो मनाङ जोड्ने सडकको निर्माण कार्य थालिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–१ तलेखु भ्राताङ भिरमा नेपाली सेनाको प्राविधिक टोलीले सडकको नयाँ ट्र्याक निर्माण गरिरहेको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.