पोखरा महानगर वडा १५ ठेगाना भई नालामुखमा बस्दै आएका राम गुरुङमाथि अस्ट्रेलिया लैजाने भन्दै ठगी गरेको आरोप लागेको छ । गुरुङलाई ओमकुमारी गुरुङले आफन्तलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै ६ तोला सुन र ढेड लाख रुपैयाँ ठगी गरेको आरोप लगाएकी छिन् ।
‘राम गुरुङले मेरो फुपुको छोरीलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजान्छु भनेर बिहे गरेको पत्रपनि आफै तयार गरेर ल्याएँ,’ ओमकुमारीले ताण्डव न्यूजसँग भनिन्, ‘त्यतिमात्र होइन अस्ट्रेलियाबाट भिसा आएको भनेर पत्र पनि देखायो ।’ त्यसबेला आफुसँग पैसा नभएको भन्दै उनले पैसा नहुँदा सुन र डेढ लाख रुपैयाँ बुझाएको बताइन् । त्यसपछि गुरुङले न विदेश लगेको नत सुन र पैसा फिर्ता गरेको उनको भनाई छ । ‘त्यसपछि बुझ्दै जाँदा ठगीमा परेको भन्ने थाहा भयो’ उनले दुखेसो पोखिन् ।
ओमकुमारीले फुपुको छोरीकोे नाम सार्वजनिक गर्दा घरमा समस्या आउने भएकाले नाम उल्लेख नगर्न आग्रह गर्दै आवश्यक प्रमाण ताण्डव न्यूजलाई उपलब्ध गराएकी छिन् । रामले हामीलाई ठग्यो, विवाह गरेको पत्र छ, तर त्यो सक्कली हो वा नक्कली केही थाहा नभएको उनले जनाइन् । ‘त्यसबेला काम भइहाल्छ भनेर केही नसोची सबै दिएको हो’ उनले भनिन् ‘मैले डेढ तोलाको मंगलशुत्र, १ तोलाको बेरुवा औंठी, साढे ३ तोलाको सिक्री, र बहिनीले आधा तोलाको सिक्री र डेढ लाख रामलाई दिएका हौंं ।’

उनका अनुसार २०७६ भदौमा उनीहरुले सुन र रकम दिएका हुन् । केही महिना झुलाएपछि राम विरुद्ध गत असोज १३ गते ओमकुमारीकी बहिनीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिइन् । उजुरीको आधारमा प्रहरीले उनीहरुलाई छलफलमा बोलाए । प्रहरीसँगको छलफलमा रामले रकम दिन्छु भनेपनि हालसम्म नदिएको पीडित बताउँछन् । रामले अन्य महिलालाई पनि ठगेको ओमकुमारीको आरोप छ ।
रामले आफू अस्ट्रेलिया गएर आएको भनेपनि एक पटक पनि अस्ट्रेलिया नगएको ओमकुमारीले खुलासा गरिन् । ‘फेसबुकको प्रोफाईलमा अस्ट्रेलियामा खिचेको फोटो राखेपनि अझैसम्म एक पनि अस्ट्रेलिया गएको छैन भनेर उसैको दिदीले मसँग भन्नुभयो थियो,’ उनले भनिन्, ‘त्यही प्रोफाईलमात्र होइन त्यसले अस्ट्रेलियाको कार्ड र अस्ट्रेलियन राजदुताबासले पठाएको पत्र र एसएमएस समेत देखाउँछ ।’
यस विषयमा रामलाई फोनमा सम्पर्क गर्दा ४ दिन पछि आफैँ सम्पर्क गरेर सबै कुरा बताउने प्रतिबद्धता व्यक्त गरेका थिए । एक हप्ता पछि पनि फोन नआएपछि ताण्डव न्यूजसँगको कुराकानीमा रामले आफ्नो गल्ती स्वीकार गरे । ‘अस्ट्रेलियन एम्बेसीबाट आएको पत्र नक्कली हो, अरु कुरा भेटेर भन्छु’ उनले भने, ‘काठमाडाैंमा पनि एक युवतीसँग विदेश लैजाने कुरामा लफडा त भएको हो तर मैले मिलाईसकेको छु ।’
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.