www.tandavnews.com
Fact ~ In search of truth

तस्कर गिरोह सक्रिय, महामारीयता ८ वटा गैंडा मारिए

अभियुक्त पक्राउपछि तस्करी खुल्यो

नारायण अधिकारी/रासस

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गत वर्षयता तस्करबाट ५ वटा गैंडा मारिएको भनिए पनि अभियुक्त पक्राउसँगै थप ३ गैंडा मारिएको खुलेको छ । निकुञ्जले पछिल्लो समय ३० अभियुक्त पक्राउ गरेसँगै उनीहरुको बयानबाट थप ३ वटा गैंडा मारेको खुल्न आएको हो । निकुञ्ज क्षेत्रमा तस्करले थप गैंडा मारेको हुनसक्ने आशंकासँगै सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ ।

गत वर्ष कोरोना संक्रमणका कारण जारी गरिएको निषेधाज्ञासँगै निकुञ्ज क्षेत्रमा तस्कर गिरोह सक्रिय भएको पाइएको छ । यससँगै निकुञ्ज प्रशासनसहितका विभिन्न सुरक्षा निकाय तस्करी नियन्त्रणमा सक्रिय भएका थिए ।

Batas

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गत वर्षको वैशाखदेखि भदौसम्म निकुञ्जभित्र तस्करले गैंडा मारेको खुल्न आएको बताए । निकुञ्जको आइल्याण्ड क्षेत्रमा गत वर्षको कात्तिक १८ गते एउटा, २१ गते २ वटा र मंसिर १ गते एउटा गैंडा मारिएको अवस्थामा भेटिएको थियो । कात्तिक २१ गते भेटिएका माउ बच्चा हुन् । ती २ वटा र मंसिर १ गते कंकालमात्रै भएको गैंडा खागखुरविहीन थिए । कात्तिक १८ गते मारिएको गैंडाको टाउकोमा गोली लागेको भए पनि खागखुर सुरक्षित थियो ।

त्यसैगरी विसं २०७६ भदौमा सोही आसपास क्षेत्रमा एउटा गैंडाको कंकाल भेटिएको थियो । माडीको घाँघर पश्चिममा गएको साउन ११ गते एउटा गैंडा खाग काटिएको अवस्थामा भेटिएको थियो । घाँघरकै दक्षिणपूर्व अर्काे गैंडाको कंकाल मात्रै भेटिएको थियो । साउन ११ गते भेटिएको गैंडा तस्करबाट मारिएको भनिए पनि दक्षिणतर्फ भेटिएको कालगतिले मरेको हुनसक्ने आशंका गरिएकोमा अभियुक्त पक्राउसँगै तस्करीबाट मारिएको खुल्न आएको बरालको भनाइ छ ।

अभियुक्तले सो गैंडाको टाउको कुहिएपछि खाग झिकेको अनुमान गरिएको छ । डुमरिया क्षेत्रमा अर्काे एउटा गैंडा मारेर खाग लगेको पक्राउ परेकाको बयानमा उल्लेख छ । सो क्षेत्रमा मृत शरीर भने हालसम्म फेलापरेको छैन ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकाको बयानका आधारमा माडीमा एउटा, डुमरियामा एउटा र आइल्यान्ड क्षेत्रमा एउटा गैंडा गरी थप ३ वटा गैंडा तस्करले मारेको खुल्न आएको हो । यससँगै गत वर्षयता हालसम्म तस्करले ८ वटा गैंडा मारेको उनले जानकारी दिए ।

निकुञ्जको तथ्यांकमा गत वर्ष ४ वटा र यस वर्ष एउटा मात्रै गैंडा तस्करले मारेको उल्लेख छ । यस वर्ष प्राकृतिक कारणले हालसम्म ६ वटा गैंडा मरिसकेका छन् । अधिकारीको भनाइमा तस्कर पक्राउ पर्दै जाँदा मारिएका गैंडाको संख्या बढ्दै गएको छ । कतिपय तस्करले मारेका गैंडाको हाडखोरसमेत नभेटिएको हुनसक्ने आशंकामा निकुञ्जका शंकास्पद क्षेत्रमा सुरक्षा अवस्थालाई कडाइ गरिएको उन बताए ।

गत वर्ष गैंडा मारिएसँगै निकुञ्जले यसअघि तस्करीमा लागेकालाई निगरानीमा राखेर अनुसन्धान गरेको थियो । सो क्रममा कारागारमा रहेकालाई समेत अनुसन्धान गरी अभियुक्त पक्राउ गर्न सफल भएको हो । प्रमुख संरक्षण अधिकृत बरालले तस्करीका लागि रासनपानी बोक्नेदेखि बिक्री गर्नेसम्मका गिरोह पक्राउ गर्न सफल भएको बताए । थप अभियुक्त नजिक पुगेको उनी बताउँछन् । पछिल्लो समय पक्राउ परेका उच्च तहमा पहुँच भएकासमेत छन् ।

नेपाल प्रहरीको घुमुवालाई समेत पक्राउ गर्न सकिएको भन्दै उनले जोकोही भएपनि नछाडिने बताए । यो निकुञ्जमा देशकै सबैभन्दा बढी गैंडा रहेको छ । गत वर्षको गणनामा नेपालमा ७ सय ५२ गैंडा भेटिएकामा यहाँ मात्रै ६ सय ९४ रहेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.