www.tandavnews.com
Fact ~ In search of truth

पहिराेले खानेपानी आयोजनाको पाइप बगायो, पानी आपूर्ति बन्द

सांकेतिक तस्विर

ताण्डव

व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले व्यास–१३ खिरखाँदीबाट ल्याएको खानेपानीको पाइप पहिराेले बगाएर क्षति पुगेको छ ।

Batas

२ दिन निरन्तर परेको बर्सातले व्यास नगरपालिका–१३ स्थित धारापानी नजिक डाँडो नै खसेर खानेपानीको पाइप बगाएपछि पानी आपूर्ति बन्द भएको छ । पहिराले खानेपानीको पाइप बगाएर सेतीनदी किनारसम्म पुराएको संस्थाका सचिव राजेश्वर हड्खलेले जानकारी दिएका छन् । डोजरले पनि पल्टाउन नसक्ने किसिमका ठूलाठूला ढुंगा थुप्रिएको छ । उनले भने, ‘२ सय एमएमको जिआइ पाइप ६५ मिटर बगाएर क्षति भएको छ ।’

घटनास्थलको अवस्था हेर्दा १ महिनामा पनि पन्छाएर नसकिने देखिएको उनले बताए । पहिरोको क्षतिबाट करिब रु ४ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । खिरखाँदीको मुहानबाट ल्याइएको पानीको क्षमता प्रतिसेकेन्ड ९ लिटर रहेकोमा पहिरोले अवरुद्ध बनाएपछि पानी वितरणमा समस्या देखिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए । उक्त आयोजनाको पानी सञ्चालन नहुँदासम्म छाब्दी खोला लिफ्टिङ र धुपखोलाको पानीले १ दिन बिराएर पानी आपूर्ति गर्न सकिन्छ कि भन्ने विषयमा समितिमा छलफल भइरहेको उनले बताए ।

पहिरोले क्षति बनाएपछि अस्थायीरुपमा पोलिथिन पाइप प्रयोग गरेर भएपनि जति सक्दो चाँडो पानी सञ्चालन गर्न सकिन्छ कि भनेर छलफल अघि बढाइएको छ । उक्त खिरखाँदी खोला सदरमुकाम दमौलीदेखि करिब १३ किलोमिटर दूरीमा पर्छ । उक्त संस्थाले २ हजार ५ सय घरधुरीमा पानी वितरण गर्दै आएको जनाएको छ । नेपाल सरकारको सहलगानीमा निर्माण गर्न लागेको मादी नदी लिफ्टिङ खानेपानी आयोजनाको द्विपक्षीय सम्झौता गरिसकिएको छ । नेपाल सरकारको ७० प्रतिशत, स्थानीय श्रमदान २० प्रतिशत र स्थानीयको १० प्रतिशत नगद बेहोर्नुपर्ने व्यवस्था रहेको छ ।

सहलगानीमा कुल रु २६ करोड १४ लाख ९३ हजार ५ सय १८ को लागतमा उक्त खानेपानी आयोजना सम्पन्न गर्ने योजना रहेको छ । बर्सेनि बाढी पहिराले खानेपानीमा क्षति पुर्याउन थालेपछि समितिले मादीनदी लिफ्टिङ आयोजनालाई जोड दिएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.