www.tandavnews.com
Fact ~ In search of truth

कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भरः मुख्यमन्त्री

ताण्डव

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रिनुपर्ने बताएका छन् । १८ औं निजामती सेवा दिवसका आवसरमा मंगलबार शुभकामना व्यक्त गर्दैै उनले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर गर्ने बताएका हुन् ।

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ नाराका साथ मनाउन लागिएको यस वर्षको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती सेवाका राष्ट्रसेवक कर्मचारीलाई मुख्यमन्त्री पोखरेलले शुभकामना व्यक्त गरे ।

Batas

निजामती सेवालाई थप व्यावसायिक र सिर्जनशील बनाउने तथा विकास‚ समृद्धि र सुशासन प्रवद्र्धनमा सबै निजामती कर्मचारीहरू ऐक्यवद्ध रूपमा परिचालित भई सरकारको नीति कार्यान्वयनमा प्रतिवद्ध हुनु आवश्यक रहेको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । उनले भनेका छन्, ‘निजामती सेवाको यो प्रतिवद्धताले जनताले सरकारको अनुभूति गर्न सक्ने वातावरण सिर्जना गर्न सक्दछ भन्ने मैले विश्वास लिएको छु ।’

गण्डकी प्रदेश सरकार निजामती कर्मचारीको वृत्ति विकास र उत्प्रेरणा अभिवृद्धिमा सदा सकारात्मक रहँदै आएको उल्लेख गर्दै उनले सार्वजनिक सेवा प्रवाह र सरकारको नीति कार्यान्वयमा विगतमा जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् ।

निजामती सेवा दिवसकै अवसरमा मुख्यमन्त्री पोखरेलले पोखराको वसुन्धरा पार्क नजिकै वृक्षरोपण गरेका छन् । १८ औं निजामती सेवा दिवस मुल समारोह समितिले राष्ट्र सेवक वृक्षरोपण कार्यक्रम गरेको हो । उक्त अवसरमा सडक किनारमा कोइरालो, टाँकी लगायत बिरुवा रोपिएको छ । उक्त अवसरमा प्रमुख सचिव डा. दामोदर रेग्मी, वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराल, निजामती कर्मचारीको आधाकारिक ट्रेड युनियनका कास्की अध्यक्ष भरत भुसाल, डिभिजन वन कार्यालय प्रमुख केदार बराल लगायत सहभागी थिए । कार्यालय व्यवस्थापन र सेवा प्रवाहमा उत्कृष्ठ ठहरिएका ३ कार्यालयलाई उक्त अवसरमा प्रमाणपत्र प्रदान गरिएको थियो । मुख्यमन्त्री पोखरेलले ती कार्यालयका प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

यसैगरी दिवसकै अवसर पारेर नेपाल निजामती कर्मचारी युनियन संघले गरेको रक्तदान कार्यक्रम मुख्यमन्त्री पोखरेलले सुरुआत गरेका छन् । मुख्यमन्त्रीका निजी सचिव विष्णु भुसाल र नेल्टाका महासचिव सुरेश श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम सुरु भएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.