www.tandavnews.com
Fact ~ In search of truth

पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी

ताण्डव

पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको हो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्नुपरेको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रन बनायो । नेपालले १ सय ३५ रनको विजयी लक्ष्य ३९ दशमलव ३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । उनले ६५ बल खेल्दै २ चौका प्रहार गरेका थिए । यस्तै प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले ३० रनको योगदान दिए । उनले ४६ बलमा ४ चौका हाने ।

Batas

नेपाली टोली संकटमा परेको समयमा ब्याटिङ गर्न आएका सोमपाल कामीले ३२ बलमा २२ रन बनाए । सो क्रममा उनले १ छक्का र १ चौका प्रहार गरेका थिए । यस्तै कुशल भुर्तेलले १५ रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका गौडी टोकाले ३, डामिन राभु र चाड सोपरले २/२ तथा नोसिना पोकानाले १ विकेट लिएको थियो ।

यसअघि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीका ब्याटस्म्यानलाई खुलेर खेल्न दिएनन् । उनले कसिलो बलिङ गर्दै ४ विकेट लिए । लामिछानेले १० ओभर बलिङ गर्दै ३५ रन खर्चिएको थियो । पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाए । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, चाड सोपरले अविजित १७, किप्लिन डोरिगाले १५, सेसे बाउले १४ र कप्तान असाद भालाले ४ रन मात्र बनाए । टोनी उरा र नोसिना पोकाना १÷१ रनमा समेटे भने जासन किला र डामिन राभु रन नबनाई पेभेलियन फर्किए ।

बलिङतर्फ नेपालका विक्रम सोब र कुशल मल्लले २/२ विकेट लिए । आजको खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीबाट डेब्यू गरेका सोबले पहिलो बलमै विकेट लिएको थिए । उनले पपुवा न्युगिनीका प्रारम्भिक ब्याटस्म्यान टोनी उरालाई पेभेलियन फर्काएको हो । यस्तै सोमपाल कामीले १ विकेट लिए ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग २ एकदिवसीय खेल खेल्न लागेको हो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.