www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री रोजगार कार्यक्रमः बेरोजगारलाई गाउँघरमै रोजगारी

कृष्ण न्यौपाने

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार सूचीमा सूचीकृत तनहुँका सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका छन् । न्यूनतम १ सय दिनको रोजगारी पाइने यस कार्यक्रममार्फत् सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका हुन् । म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ सय ६५ बेरोजगारले रोजगारी पाएका छन् । गाउँपालिकामा ४ सय ४८ बेरोजगार सूचीकृत भएकामा प्राथमिकताका आधारमा १ सय ६५ बेरोजगारले रोजगारी पाएका हुन् ।

रोजगारी पाउनेमा म्याग्दे गाउँपालिका– ३, ४, ६ र ७ का बेरोजगार सूचीमा सूचीकृत भएकाहरु रहेको रोजगार संयोजक पविन्द्र शाहीले जानकारी दिए । उनका अनुसार म्याग्दे–३ का १३, म्याग्दे–४ का ३७, म्याग्दे–६ का ९ र म्याग्दे–७ का १ सय ६ जनाले रोजगारी पाएका छन् । उनीहरुले प्रतिदिन रु ५ सय १७ का दरले न्यूनतम १ सय दिनको काम पाएका छन् । ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत १ सय र कामका लागि समुदायमा आधारित पारिश्रमिक आयोजनाअन्तर्गत ६५ जनाले रोजगारी पाएका छन्’, उनले भने, ‘७ वडामध्ये ४ वडामा आयोजनामार्फत् काम गरिएको छ ।’

Batas

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् गारेटो बाटो निर्माण, चौतारा निर्माण, पैदलमार्ग, पोखरी मर्मत, खानेपानी आयोजना मर्मतलगायत काम सम्पन्न भएको छ । ‘सबै कामको प्रगति सन्तोषजनक छ’, उनले भने, ‘स्थानीय स्तरमै रोजगारी पाउँदा बेरोजगारलाई गुजारा चलाउन सहज भएको छ ।’

चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि २ सय ५८ सूचीकृत भएका छन् । तीमध्ये १ सय १ जनाले रोजगारी पाउने छन् । म्याग्दे–३ मा २२, म्याग्दे–४ मा ३६, म्याग्दे–६ मा ११ र म्याग्दे–६ मा एक सय ८९ जना सूचीकृत भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि म्याग्दे–१ र २ मा कोही पनि सूचीकृत भएका छैनन् । प्रत्येक वडा कार्यालयमा सूचना पुर्याए पनि वडाको तर्फबाट राम्रो समन्वय हुन नसकेको संयोजक शाहीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकामा चालु आर्थिक वर्षमा रु ८५ लाख बजेट विनियोजन भएको छ ।

व्यास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ सय ८३ जनाले रोजगारी पाएका छन् । यस कार्यक्रमअन्र्तगत १२ वटा योजनाको काम गरिएको छ । कार्यक्रमका लागि रु ८८ लाख बजेट विनियोजन भएकामा रु ४७ लाख ५४ हजार ९ सय १ बजेट खर्च भएको रोजगार संयोजक सुजिता थापाले जानकारी दिए ।

नगरपालिकाका १४ वडामध्ये ७ वडामा मात्रै रोजगार कार्यक्रम सञ्चालन भएको छ । व्यास–६ मा कुुलो मर्मत, व्यास–९ मा चिसापानी मोटरमार्ग कच्ची नाला निर्माण, व्यास–१० देवीडाँडामा सिढी निर्माण, व्यास–११ चमेरेगुफा भतेरी मार्गमा सिढी निर्माण र चौतारी निर्माणको काम गरिएको छ भने व्यास–१३ मा सुढे पदमार्ग र व्यास–१४ मा रुम्सी बेलडाँडामा कच्ची नाला निर्माण गरिएको छ ।

आँबुखैरेनी गाउँपालिकामा ३ सय ९६ जनाले रोजगारी पाएका छन् । यस कार्यक्रममार्फत् ३५ योजना सम्पन्न गरिएको रोजगार संयोजक कमला गैह्रेले जानकारी दिए । यसअन्तर्गत प्रत्येक वडामा चौतारा र पोखरी निर्माण गरिएको छ । यसैगरी गोरेटो बाटो, नाला निर्माणलगायत काम सम्पन्न भएको छ । कार्यक्रमका लागि रु ९६ लाख बजेट प्राप्त भएकामा रु ८६ लाख ९५ हजार खर्च भएको थियो ।

कार्यक्रमअन्तर्गत वडा नं ४ मा कोटगाउँ गोरेटो बाटो निर्माण गरिएको छ । वडा नं ५ मा ताराखसे आहालमा पोखरी तथा चौतारो निर्माण गरिएको छ । वडा नं ६ मा हिलेखर्क छिम्केश्वरी गोरेटो मार्ग निर्माण, वडा नं ५ बरालुङ गाउँबाट सानोभञ्ज्याङ जानको लागि गोरेटो बाटो निर्माण गरिएको छ । गाउँपालिकाका ६ वटा वडामध्ये वडा नं २ मा पोखरी र वडा नं ३ मा चौतारो निर्माण नभएको तर अन्य सबै वडामा पोखरी र चौतारो दुवै निर्माण गरिएको संयोजक गैह्रेले जानकारी दिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.