www.tandavnews.com
Fact ~ In search of truth

वालिङ नगरपालिका र ब्रिटिस काउन्सिलबीच शैक्षिक गुणस्तर सुधार्न सम्झौता

ताण्डव

शैक्षिक गुणस्तर सुधार गर्न स्याङ्जाको वालिङ नगरपालिका र ब्रिटिस काउन्सिलबीच सम्झौता गरिएको छ । शिक्षा क्षेत्रमा देखिएका कमी–कमजोरीलाई सुधार गर्दै आधुनिक र व्यवस्थित शिक्षण सिकाइ क्रियाकलापमा जोड दिने मुख्य उद्देश्यले सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा नगरप्रमुख दिलीपप्रताप खाँण र ब्रिटिस काउन्सिलका कन्ट्री डाइरेक्टर शाहिदा माकडौगेलबीच हस्ताक्षर गरिएको छ । नगरभित्रका सबै सामुदायिक विद्यालयमा लागू हुने गरी शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक परियोजना सञ्चालनका लागि सम्झौता गरिएको नगरप्रमुख खाँणले बताए ।

Batas

परियोजनाअन्तर्गत विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन र विषयगत शिक्षकबीच शैक्षिक गुणस्तर वृद्धिका लागि आ–आफ्नो भूमिकामा स्पष्टता, एकरुपता बनाउनका लागि परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख खाँणले बताए ।

‘शिक्षण सिकाइ क्रियाकलापलाई थप व्यवस्थित र समयानुकूल बनाउँदै लगिने छ’, प्रमुख खाँणले भने, ‘विषयवस्तुप्रतिको सिकाइ र सिकाउने कलामा निपूर्णता ल्याउँदै गुणस्तरको मापन गरिने छ ।’

असल अभ्यासको स्थानीयकरण र प्राप्त उपलब्धिको संरक्षण जस्ता विषयमा केन्द्रित रहेर उक्त परियोजना आगामी ३ वर्षसम्म सञ्चालन हुने प्रमुख खाँणले बताए । ब्रिटिस काउन्सिलमार्फत उक्त परियोजना पहिलोचरणमा स्याङ्जाको वालिङ र नवलपरासीको कावासोती नगरपालिकामा नमूनाका रूपमा सञ्चालन गरिएको ब्रिटिस काउन्सिलका कन्ट्री डाइरेक्टर शाहिदा माकडौगेलले बताए ।

परियोजना सञ्चालनका लागि पहिलो वर्ष ब्रिटिस काउन्सिलबाट कूल रकमको ७० प्रतिशत, दोस्रो वर्ष ६० प्रतिशत र तेस्रो वर्ष ५० प्रतिशत रकम उपलब्ध गराइने छ । सो नगरपालिकाले पहिलो वर्ष ३० प्रतिशत, दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ५० प्रतिशत रकम खर्च गर्ने गरी सम्झौता गरिएको छ ।

चालु शैक्षिक सत्रबाट यो परियोजना लागू हुने शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताए । नगरभित्रका ५६ आधारभूत विद्यालय र १६ माध्यमिक गरी कूल ७२ सामुदायिक विद्यालयमा यो परियोजना ३ वर्षसम्म सञ्चालन हुने शाखा प्रमुख सापकोटाले बताए ।

पहिलो, दोस्रो र तेस्रो वर्षमा के–कसरी अगाडि बढ्ने भन्ने योजनासहित परियोजना सञ्चालन गरिएको हो । परियोजनाअन्तर्गत विद्यालयको स्पष्ट योजना, पारदर्शी कार्यान्वयन र उपलब्धि मापनयोग्य हुने प्रमुख सापकोटाले जानकारी दिए । विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालालाई आवश्यक तालिम, ज्ञान तथा सीप हस्तान्तरण गर्दै लगिने छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.