www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरको बजेट समिक्षाः कोरोनाले काम ठप्प, ६६ प्रतिशतमात्रै बजेट खर्च

ताण्डव न्यूज

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रमहरुको समिक्षा गरेको छ । समिक्षाका क्रममा कोरोना महामारीका कारण पूर्वाधारका कामहरु ठप्प हुँदा कूल बजेटको जम्मा ६६ प्रतिशतमात्र बजेट खर्च भएको महानगरले जनाएको छ । चालुतर्फ ८७ प्रतिशत र पुँजीगततर्फ ५०.५ प्रतिशत बजेट खर्च भएको वित्त महाशाखाका निर्देशक जयराम पौडेलले बताए ।

महानगरमा गत आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठीमा बोल्दै पौडेलले कोरोना महामारीका कारण विकासका कामहरु ठप्प हुँदा खर्च पनि कम भएको बताए । महानगरको कुल ५ अर्ब ५१ करोड ८२ लाख ५३ हजार रकममध्ये ३ अर्ब, ६८ करोड, ८१ लाख २५ हजार खर्च भएको पौडेलले बताए ।

Batas

बजेट खर्चको अनुपातमा सबैभन्दा धेरै ‘९१.३७ प्रतिशत’ शिक्षा महाशाखाले खर्च गरेको छ । उक्त महाशाखाले कुल १ अर्ब ३४ करोड ८५ लाख बजेटमध्ये १ अर्ब २३ करोड २१ लाख ८३ हजार रकम खर्च गरेको हो । त्यस्तै सबैभन्दा कम सामाजिक विकाश महाशाखाले ‘४५.४४ प्रतिशत’ खर्च गरेको छ । उक्त महाशाखामा रहेको कुल १० करोड २२ लाख ७१ हजार बजेटमध्ये ४ करोड ६४ लाख ७१ हजार रकम खर्च भएको उनले जानकारी दिए । पूर्वाधार तर्फको बजेट भने ४८.१ प्रतिशत खर्च भएको छ ।

कुल बजेट २ अर्ब ६८ करोड ७७ लाख ६८ हजारमध्ये १ अर्ब २९ करोड, २७ लाख ४५ हजार रकम खर्च भएको पौडेलले बताए । उनले पोखरा महानगरको वित्तिय अवस्था शसक्त रहेको दावीसमेत गरे । ‘महानगरमा यो आर्थिक वर्षमा कुनै योजनालाई रकम नपुग्ला कि भन्नुपर्ने अवस्था छैन’ उनले भने ।

राजश्व शंकलनमा भने महानगर केही कमजोर देखिएको छ । गत आर्थिक वर्षमा करिब २६ करोड अनुमान गरिएको सम्पत्ती कर जम्मा ७ करोडमात्र उठेको उनले बताए । साथै विज्ञापन र मनोरञ्जन करसमेत उठाउन नसकिएको उनको भनाई थियो । त्यस्तै ३५ करोड उठ्ने अनुमान गरिएको ढुंगा, गिटी, बालुवा कर २१ करोड ८० लाख संकलन भएको उनले बताए ।

कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले निर्माण सामाग्रीको अभाव, कामदारको अभाव तथा कोरोना महामारीका कारण योजना अनुरुपका कामहरु गर्न नसकिएको बताए । वर्षायाम, चाडबाडलगायतका कारण पनि काम कम हुने परिपाटी रहेको बताउँदै बरालले योजना छनौट, सार्वजनिक खर्च सम्बन्धि व्यवस्था, क्षमता भन्दा बढी काम लिने निर्माण व्यवसायीहरुका कारण पनि महानगरमा सोचेजस्तो काम हुन नसकेको बताए । उनले समिक्षाको क्रममा प्राप्त सुझावहरुलाई समेटेर आगामी दिनमा थप प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता जनाए ।

समिक्षा गोष्ठीमा महानगरका वरिष्ठ प्रशासकीय अधिकृत एवं सूचना अधिकारी भरतराज पौडेलले वार्षिक रुपमा गरिने समिक्षाले महानगरको प्रशासनिक अवस्थाबारे जानकारी गराए । कोरोना महामारीको विषम अवस्थामा समेत महानगरबासीको सेवामा कुनै कसर बाँकी नराखी काम गरिएको उनले बताए । महानगरलाई सुसासनयुक्त बनाउन गरिएका प्रयासहरुबारे अवगत गराए । सो अवसरमा सामाजिक विकाश महाशाखा, स्वास्थ्य महाशाखा, शिक्षा महाशाखा, पूर्वाधार महाशाखा, कृषि तथा पशु विकास महाशाखाका प्रमुखहरुले पनि वार्षिक गतिविधिहरु प्रस्तुत गरेका थिए ।

पोखरा महानगरका सहरी योजना आयोगका उपाध्यक्ष डा. आरसी लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रवक्ता धनबहादुर नेपालीले स्वागत मन्तव्य व्यक्त गरे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.