www.tandavnews.com
Fact ~ In search of truth

डा. भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

काठमाडौँ

चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ परेका छन् ।

प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२ मुलाबारीबाट स्थानीय ४५ वर्षीय राजेन्द्र पण्डितलाई पक्राउ गरेको हो । अपहरण तथा शरीर बन्धक कसुरमा उच्च अदालत हेटौँडा इजलासको विसं २०७० माघ २१ को फैसलाले उनलाई ९ वर्ष कैद र रु ५० हजार जरिवाना सुनाएको थियो ।

Batas

तत्कालीन मुलिकी ऐन, (२०२०) को अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं बमोजिम ७ वर्ष कैद र सोही महलको ७ नं बमोजिम २ वर्ष थप कैद गरी जम्मा ९ वर्ष कैद तोकिएको थियो ।

त्यसपछि पण्डित फरार हुँदै कहिले नेपाल त कहिले भारतमा लुकेर बसेका थिए । पछिल्लो समयमा नेपाल प्रवेश गरेको सूचना पाएपछि केही अघिदेखि सिआइवीको टोलीले उनको खोजी थालेकोमा मंगलबार पक्राउ परेका हुन् । उनलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

अपहरणमा संलग्न नुवाकोटका बद्रिप्रसाद ढुंगाना, काठमाडौँका गौतम योञ्जन, भारतका रोहित पालिवाललगायत पक्राउ परिसकेका छन् । मुख्य अभियुक्त भनिएका नुवाकोटका भीमसेन पण्डित अझै फरार छन् । भारतमा रहेका उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । राजेन्द्र भने भीमसेनका नजिकका मान्छे हुन् । उनी डा. श्रेष्ठको अपहरणपछि राख्ने ठाउँको व्यवस्थापनमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

विसं २०६७ जेठ ४ मा चितवनको भरतपुर महानगरपालिका–१०, साबिकको भरतपुर नगरपालिका–१० चौबिसकोटीस्थित चितवन अस्पतालबाट घर फर्कँदै गर्दा स्थानीय हाकिमचोक नजिकको भित्री सडकबाट डा. श्रेष्ठलाई अपहरण गरिएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार अपहरणपछि उनलाई काठमाडौँ र नुवाकोटका विभिन्न ठाउँमा बन्धक बनाई राखिएको थियो । अपहरण भएको १८ दिनपछि फिरौती लिएर डा. श्रेष्ठलाई अपहरणकारीले छाडेका थिए । अपहरणको ४ दिनपछि उनको ब्रिफकेस चितवनको मुग्लिन नजिक घोप्टेभिरमा फेलापरेको थियो ।

अपहरणकारीलाई उनका परिवारले फिरौतीबापत भारतमा साढे ३ किलो सुन (तत्कालीन मूल्यअनुसार रु १ करोड १० लाख पर्ने) बुझाएपछि डा. श्रेष्ठ विसं २०६७ जेठ २२ गते धादिङको माझिकोटबाट अपहरणमुक्त भएको थियो ।

त्यो बेला उनीहरुले कल बाइपास गरेर परिवारसँग सम्पर्क गर्ने गरेका थिए । यसअघि काठमाडौँ महानगरपालिका–४ बस्ने ४१ वर्षीय गौतम योञ्जनलाई पनि सिआइवीको टोलीले नै काठमाडौँबाट पक्राउ गरेको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.