www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका ८८ विद्यालय भवन पुनःनिर्माण

सन्तोष गौतम
म्याग्दी

भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनःनिर्माण गरेको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ ‘शिक्षा’ म्याग्दीका इञ्जिनीयर विष्णु रिजालले २०७८ असार मसान्तसम्म ८८ वटा विद्यालयमा २ सय ८२ वटा कक्षाकोठा भवन पुनःनिर्माण भएको जानकारी दिए ।

‘१ सय ५ विद्यालयका ३ सय ४४ कक्षा कोठा, ५० शौचालय र २७ वटा खानेपानी आयोजना पुनःनिर्माण गर्ने लक्ष्य रहेको थियो’, उनले भने, ‘८८ विद्यालयका २ सय ८२ कक्षाकोठा, ४५ शौचालय र २५ वटा खानेपानी पुनःनिर्माण सकिएको छ ।’ ३० वटा २ कोठे, १० वटा ३ कोठे, ४८ वटा ४ कोठे भवन पुनःनिर्माण भएको छ । ३५ वटा भवन गत आर्थिक वर्ष २०७७/७८ मा निर्माण सकिएका हुन् । गत वर्ष ३७ वटा ४ कोठे, ३ वटा ३ कोठे, १० वटा २ कोठे भवन पुनःनिर्माणका लागि विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भएको थियो ।

Batas

गत आवमा २४ वटा ४ कोठे, १ वटा ३ कोठे र १० वटा २ कोठे भवन निर्माण सकिएका छन् । ४५ शौचालय र २५ वटा खानेपानीका योजना निर्माण भएको छ । गत वर्ष सम्झौता भएका १७ वटा भवन, ५ वटा शौचालय र २ वटा खानेपानी आयोजनाले पूर्णता पाउन बाँकी छ । १३ वटा ४ कोठे, २ वटा ३ कोठे र २ वटा २ कोठे भवन निर्माणाधीन अवस्थामा छन् ।

१ वटा ४ कोठे भवनको दोस्रो तला ढलान बाँकी छ भने अरु सबै रङरोगन गर्ने अवस्थामा रहेका एकाइका इञ्जिनीयर रिजालले बताए । आव २०७७/७८ मा ३० शौचालय र २७ वटा खानेपानीका योजना निर्माणका लागि सम्झौता भएको थियो । ५ शौचालय र २ खानेपानीका योजना निर्माणाधीन अवस्थामा छन् । आव २०७३/७४ देखि जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मार्फत विद्यालय भवन पुनःनिर्माण कार्यको थालनी भएको थियो । विसं २०७६ साउन १ मा जिल्ला आयोजना कार्यान्वयन एकाइ ‘शिक्षा’ स्थापना भएपछि म्याग्दीमा विद्यालय भवन, शौचालय र खानेपानी पुनः निर्माणले थप तीव्रता पाएको हो ।

कोरोनाको जोखिम, वैशाख तेस्रो सातादेखि गरिएको निषेधाज्ञा र जेठको अन्तिम सातादेखि शुरु भएको बर्षातले ग्रामीण सडक अवरुद्ध भएर निर्माण सामग्री ढुवानी गर्न नसक्दा विद्यालय भवन पुनःनिर्माणको योजना प्रभावित बनेका हुन् । कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ । सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताको अपांगमैत्री भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महसुस गरेका हिमाञ्जल मावि नागीका प्रअ रमन पुनले बताए । जीर्ण भवनमा जोखिम मोलेर त्रासपूर्ण वातावरणमा पठनपाठन गर्नु/गराउनुपर्ने विद्यार्थी र शिक्षकको बाध्यता हटेको उनको भनाइ छ ।

भूकम्प प्रतिरोधी क्षमताका विद्यालय भवन अपांगमैत्री छन् । खानेपानी आयोजनाका संरचनालाई बालमैत्री बनाइएको छ । शौचालयका योजना छात्रामैत्री छन् । विद्यालय भवन पुनःनिर्माणका लागि म्याग्दीमा हालसम्म करिब रु ६० करोड खर्च भएको छ । आव २०७७/७८ मा पूँजीगत शीर्षकमा रु २६ करोड १९ लाख ५१ हजार बजेट विनियोजन भएकोमा रु २४ करोड ९९ लाख खर्च भएको एकाइले जनाएको छ ।

भौगोलिक विकटता, वैदेशिक सहायता शीर्षकबाट दाताले प्रतिबद्धता जनाएको बजेट समयमा नआउने र स्थानीयस्तरमा पर्याप्त मात्रामा दक्ष मजदुरको अभाव विद्यालय भवन पुनः निर्माणका क्रममा म्याग्दीमा देखिएका चुनौती हुन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.