www.tandavnews.com
Fact ~ In search of truth

५० प्रतिशत काम नसक्दै ठेकेदार सम्पर्कविहीन बनेपछि सडक अलपत्र

म्याग्दी

बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि र सहायक ठेकेदार अधकल्चो काम छाडेर सम्पर्कविहीन बनेपछि आयोजना अलपत्र पर्नाका साथै नागरिकलाई सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ‘ठेकेदारको जिम्मामा पर्ने बांगेपहिरोमा दैनिकजसो पहिरो खसेर सडक अवरुद्ध हुन्छ, यात्रु र सवारीधनी हामीसँग कराउँछन्’, उनले भने, ‘आयोजना सञ्चालन गर्ने निकाय पूर्वाधार विकास कार्यालयले बेवास्ता गरेको छ, ठेकेदार ५ महिनादेखि सम्पर्कविहीन छन्, पहिरो पन्छाएर सडक मर्मत गरी नियमित यातायात सञ्चालन गर्न समस्या भएको छ ।’

Batas

लाम्पाटाबाट दरवाङसम्म ८ किलोमिटर खण्डसडक कालोपत्र गर्न रु २२ करोड ५७ लाख ९ सय ३२ मा विसं २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मंगला गाउँपालिकाको सिमबाट लाम्पाटासम्मको साढे २ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौताको तयारी गरेको कार्यालयले जनाएको छ । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक ३ प्याकेजमा स्तरोन्नति भइरहेको छ ।

पहिलो प्याकेजमा पर्ने बेनीबाट सिमसम्मका सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको सडकलाई पूर्णता दिन मुख्य ठेकेदारले ५ महिनापछि गत भदौदेखि काम सम्हालेका छन् । समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधि दयाराम थापा गत चैतदेखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो । मुख्य ठेकेदार समानान्तरण निर्माण कम्पनीका इञ्जीनियर महेन्द्र शाहले सडक निर्माणलाई पूर्णता दिने गरी काम सुरु गरेको बताए ।

विस २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६० प्रतिशतमात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.