www.tandavnews.com
Fact ~ In search of truth

धौलागिरी अस्पतालमा जटिल शल्यक्रियाद्वारा हड्डी प्रत्यारोपण

तारानाथ आचार्य
बलेवा

बागलुङ नगरपालिका–१० का ८६ वर्षीया महिलाको धौलागिरी अस्पतालमा हड्डीको प्रत्यारोपण भएको छ । बुधबार दिउँसो चिकित्सकहरुको टोलीले ८६ वर्षीया महिला तुलसी थापाको सफल शल्यक्रियामार्फत कम्मरको गेडी जोर्नीको प्रत्यारोपण भएको हो ।

उनको गेडी भाँचिएको थियो । उक्त स्थानमा स्टिलको गेडी बनाएर प्रत्यारोपणसमेत भएको अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. प्रतीक आचार्यले जानकारी दिए । डा. आचार्यकै नेतृत्वमा उक्त शल्यक्रिया पनि सफल भएको हो ।

Batas

अस्पतालमा कार्यरत एनेक्स्थेसियोलोजिष्ट डा. नवीन पौडेलसहित डा. कमल कार्की र डा. केशव पाण्डे र वरिष्ठ नर्स देवी भट्टराई, सञ्जु क्षेत्री र शीतल राजभण्डारीको टोली शल्यक्रियामा संलग्न थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलका अनुसार सो शल्यक्रिया अस्पतालमा पहिलोपटक भएको जानकारी दिए । शल्यक्रिया गरेपछि पनि ती महिलालाई कम्तीमा १० देखि १५ दिन अस्पतालमै राख्नुपर्ने बताए । डा. आचार्यले शल्यक्रियाले नेपालमै जटिल प्रकारको शल्यक्रिया बागलुङमा सफल भएको सन्देश गएको जानकारी दिए ।

लडेर घाइते हुनुभएकी ती महिलाको परिवारले ३ पटकसम्म अस्पताल ल्याएपछि मात्रै यो शल्यक्रिया सफल भएको हो । पहिलो र दोस्रोपटकमा महिला नमान्दा शल्यक्रिया हुन सकेको थिएन । शल्यक्रिया नभएपछि उनलाई परिवारका सदस्यले घरमा लगेका थिए । गत भदौ २४ गते लडेकी ती महिलाले शल्यक्रिया गर्न नमान्दा धेरै पीडा सहनुपरेको थियो । ‘धेरै पीडा हुन्थ्यो, त्यसैले फेरि शल्यक्रिया गर्न मनाएर ल्यायौँ,’ वृद्धका नाति धनबहादुर थापाले भने, ‘अहिले सफल भयो, अब पीडा नहोला । वृद्ध भएकाले धेरै जोखिम थियो, अझै पनि केही दिन जोखिम हुन सक्छ तर समयमै अपरेसन भएकाले लठ्ठी टेकेर हिँड्न सक्ने बनाएपछि क्रमशः सिधै हिँड्न सक्ने अवस्थामा जानु हुनेछ ।’

डा. आचार्यले भने, ‘मेडिकल क्षेत्रको यो सफलता पनि हो ।’ राजधानीका अस्पतालमा उपचार गरेको भए यस्ता घटनामा हेरविचारका लागि मात्रै ३ देखि ४ लाख खर्च हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । ‘सबै उपचार गर्दा लाखौँ खर्च हुन्थ्यो, यहाँ सामान्य खर्चमा उपचार सम्भव भयो,’ रानामगरले भने, ‘अस्पतालमा चाहे जति उपकरण, विशेषज्ञ र अन्य स्वास्थ्यकर्मी भएमा नमूना बनाउन सकिन्छ ।’

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.