www.tandavnews.com
Fact ~ In search of truth

हेटौँडा सिमेन्टको मूल्य घट्यो, ओपिसी सिमेन्ट प्रतिबोरा ७ सय २ रुपैयाँमा

वाग्मती

गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७ सय २ रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए ।

यसअघि प्रतिबोरा रु ७ सय ४७ मा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौँडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँको मूल्य पनि घटाइएको उद्योग प्रशासनले जनाएको छ । अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्नेगरी मूल्य तोकिने बताइएको छ ।

Batas

हेटौँडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा रु ७ सय र शिवम् सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा रु ६ सय ८० कायम गरी बिक्री गर्दै आएका छन् । यस उद्योग गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकी घाटामा परेको महाप्रबन्धक सिंहको भनाइ थियो ।

प्राप्त जानकारी अनुसार यस उद्योगलाई आर्थिक वर्ष २०७६/७७ मा रु २४ करोड र २०७५/७६ मा रु १६ करोड घाटा परेको थियो । लामो समयदेखि उद्योगको उपकरण जीर्ण भएर पटकपटक बिग्रिनाका साथै विगत २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकिएको उद्योगका प्राविधिकको भनाइ छ ।

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न पटकपटक योजना र कार्यक्रम ल्याइए पनि कार्यान्वयनमा समस्या हुने गरेको उद्योगका प्राविधिकको भनाइ छ । उद्योगले आफ्नै खानीबाट चुनढुंगा, रातो माटोलगायत कच्चापदार्थमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.