www.tandavnews.com
Fact ~ In search of truth

एकै परिवारका ३ जना गैँडा तस्करीमा संलग्न

नवलपुर

विसं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा मर्यो । निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा मरेकाबारे जानकारी पायो । गैँडा मारेपछि तस्कर आफ्नो योजनाअनुसार गैँडाको खाग बिक्री गर्न सफल भए ।

तस्करले खागका लागि धमाधम गैँडा मार्न थालेपछि निकुञ्जले तस्करको खोजीमा ध्यान दिन थाल्यो । सोही क्रममा निकुञ्ज प्रशासनले चालु आर्थिक वर्ष २०७८/७९ को साउन र भदौमा गरी १४ जनालाई पक्राउ गर्यो । चालु आवमा पक्राउ परेकामध्ये ६ जनालाई यसअघि नै सार्वजनिक गरिएको छ भने ८ जनालाई मंगलबार सार्वजनिक गरियो । अनुसन्धानका क्रममा कात्तिकमा गैँडा मार्नमा ७ संलग्न रहेको तथ्य बाहिरियो भने ३ जना पक्राउ परे । अझ रोचक के छ भने ती ३ मध्ये २ जना सहोदर दाजुभाइ हुन् ।

Batas

मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने टोङ्ग्राङ खोला बस्ने वर्ष ३० का जयबहादुर प्रजा र ३६ वर्षीय सिंहराम प्रजा सोही घटनामा संलग्न रहेको निकुञ्जले जनाएको छ । ती २ दाजुभाइसँगै अर्का भाइ सुरेश प्रजा पनि पक्राउ परेका छन् । यसरी एकैपटक ३ दाजुभाइ गैँडा तस्करी मुद्दामा पक्राउ परेका छन् । सुरेश भने विसं २०७७ असोजमा निकुञ्जको घाँघर क्षेत्रमा गैँडा मार्न संलग्न रहेको निकुञ्जले जनाएको छ ।

उनीहरुसहित निकुञ्जले मंगलबार ८ तस्करलाई सार्वजनिक गरेको छ । ४ गैँडा मारी खाग बिक्री गरेको ओरोपमा चालु आवको साउन ३२ देखि भदौ १० गतेसम्ममा पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । सो क्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने, ‘एउटै परिवारका धेरै सदस्य गैँडा तस्करमा संलग्न हुनु गम्भीर हो, दोषीलाई कडा कारबाही हुने कानुन बन्नुपर्छ ।’

उनले विभिन्न चुनौतीका बाबजुद उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए । ‘ठेगाना परिवर्तन र प्राविधिक समस्याका कारण अझै अभियुक्तलाई समयमै पक्राउ गर्न सकिएको छैन, एउटै व्यक्तिलाई विभिन्न नामबाट सजाय तोकिएका छन्, उनीहरुलाई पक्राउ गर्न कठिन छ’, प्रमुख संरक्षण अधिकृत बरालले भने ।

निकुञ्जले मंगलबार सार्वजनिक गरेका अन्य तस्करका आरोपीमा नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’ गैँडाकोट-१ बस्दै आएका ३२ वर्षीय गोपाल सारु, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ घर भएका वर्ष ३५ का रामकुमार श्रेष्ठ, मकवानपुरको साविक सरीखेत गाउँपालिका–९ घर भएका २९ वर्षीय करण मोक्तान भन्ने करण प्रजा, मनहरि–४ नयाँबस्ती घर भएका २७ वर्षीय सरोज मुक्तान र चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङ रहेका छन् ।

४ वटा गैँडा मार्न संलग्न भएका १७ मध्ये ८ जना पक्राउ परेका र निकुञ्जले ९ जना अझै फरार रहेको जनाएको छ । निकुञ्जका अनुसार चालु आव २०७८/७९ वर्षमा गैँडा मुद्दामा १४ पक्राउ परिसकेका छन् । अघिल्लो आव २०७७/७८ मा २८ र यस वर्ष १४ गरी हालसम्म ४२ जना पक्राउ परेका छन् ।

 

 

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.