www.tandavnews.com
Fact ~ In search of truth

प्रभावकारी भएन लमजुङमा सरकारले गरेकाे स्वास्थ्य बीमा कार्यक्रम 

लमजुङ

लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न सकेको छैन ।

सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम कोभिड संक्रमणको जोखिम, प्रसारप्रसारको अभाव र जिल्लावासीमा स्वास्थ्य बीमाबारे चासो नहुँदा लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न नसकेको हो ।

Batas

जिल्ला स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता ८ हजार ९ सय ३० जनाले स्वास्थ्य बीमा गराएका छन् । तीमध्ये १ हजार ८ सय ५१ ज्येष्ठ नागरिक, १ सय २७ महिला स्वास्थ्य स्वंयसेविका, ८१ अपांगता भएका व्यक्ति र २३ जना एचआइभी संक्रमित व्यक्ति रहेको स्वास्थ्य बीमा कार्यक्रमका दर्ता अधिकारी अनुपमा रेग्मीले बताए ।

जिल्लामा गत माघ महिनादेखि यो कार्यक्रम लागू भएको छ । यो कार्यक्रमबाट हालसम्म रु ५१ लाख ८६ हजार संकलन भएको उनले जानकारी दिए । कार्यक्रममा लागि जिल्लाका ७५ वटा वडामा १÷१ जना गरी ७५ जना दर्ता सहयोगी परिचालन गरिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५ जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार रु ३ हजार ५ सय र ५ जना भन्दाबढी परिवारका सदस्य भएमा प्रतिसदस्य ७ सयका दरले शुल्क तिर्नुपर्ने हुन्छ । ५ जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु १ लाखसम्मको निःशुल्क स्वास्थ्य सेवा पाइन्छ भने ५ भन्दा बढी भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्कमा थप हुँदै जाने व्यवस्था छ ।

स्वास्थ्य बीमा कार्यक्रममा १ हजार १ सय १८ प्रकारका औषधी उपचार पाइने दर्ता अधिकारी रेग्मीको भनाइ छ । उनकानुसार बीमा कार्यक्रममा आवद्ध सदस्यले सूचीकृत अस्पतालबाट मात्रै निःशुल्क उपचार सेवा पाउने व्यवस्था छ ।

जिल्लामा ४ वटा स्वास्थ्य संस्थाबाट यो सेवा उपलब्ध छ । हालसम्म जिल्ला अस्पताल लमजुङबाट मात्र यो सेवा लिएको बताइएको छ । जिल्ला अस्पतालमा हालसम्म ८ सय ६ जनाले बीमाबापतको उपचार सेवा लिएका छन् । यीमध्ये ५ सय ३४ महिला र २ सय ७२ पुरुषले यो सेवा लिएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार उनीहरुले यस अस्पतालबाट औषधीउपचारमा रु १० लाख बराबरको सेवा लिएका छन् ।

बीमा रकम तिर्न नसक्ने विपन्न वर्गका हकमा भने सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सरकारले अतिविपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था छ ।

यहाँका ज्येष्ठ नागरिक, पूर्ण रुपमा अपांगता भएका एवं रातो कार्ड भएका र एचआइभी संक्रमितलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको दर्ता अधिकारी रेग्मीको भनाइ छ । त्यस्तै, महिला स्वयमसेविकालाई भने ५० प्रतिशत छुट दिएको उनको भनाइ छ ।

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.