www.tandavnews.com
Fact ~ In search of truth

जन्मदर्ताका लागि अनियमित रुपमा रकम असुलीः नहुँदा रोकियो विद्यालय भर्ना

वडाध्यक्ष रु १० हजार घूससहित पक्राउ

जलेश्वर, सञ्जीतकुमार मण्डल

महोत्तरीको मटिहानी नगरपालिका– ५ की रिङ्कु देवीको ४ सन्तानको विद्यालय जाने उमेर भइसकेको छ । तर, जन्मदर्ता नभएका कारण उनीहरू विद्यालय भर्ना हुन पाएका छैनन् । विद्यालयमा नामांकनका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।

विद्यालयमा नामांकनका लागि रिङ्कुले आफ्ना सन्तानको जन्मदर्ता बनाउनका लागि विगत १ वर्षदेखि वडा कार्यालय धाइराखेको छ । तर जन्मदर्ता बनाउन पाएकी छैनन् । वडाध्यक्ष र कम्प्युटर अपरेटरले जन्मदार्ता बनाइदिएवापत रु १० हजार माग गरेको तर आफूसँग सो रकम नहुँदा आफ्ना सन्तानको जन्मदर्ता बनाउन नसकेको रिङ्कुको दावी छ । ‘जन्मदर्ता नहुँदा आफ्नो सन्तान विद्यालय भर्ना हुन पाएका छैनन्’, उनले भनिन् । उनका अनुसार वडाध्यक्ष रामबहादुर महतो र कम्प्युटर अपरेटर ऐबुल राइनले आफ्ना ४ छोराछोरीको जन्मदर्ता बनाइदिएवापत रु १० हजार खर्च लाग्ने बताइन् । तर आफूसँग सो रकम तिर्ने क्षमता नभएका कारण मेरा छोराछोरी जन्मदर्ताविहीन रहनुपरेको छ ।

Batas

गरिबी र विपन्नताको जाँतोमा पिस्सिएकी रिङ्कुले वडाध्यक्ष महतो र कम्प्युटर अपरेटर राईले मागेको जति पैसा नदिए पनि आजभन्दा ८ महिनापूर्व रु १ हजार दिएकी छिन् तर रु ९ हजार नदिएकै कारण आजसम्म उनले आफ्ना ४ सन्तानको जन्मदर्ता बनाउन नपाएकी दुःखेसो व्यक्त गरेकी छिन् ।

उनीजस्तै स्थानीयवासी रामनारायण यादवले पनि आफ्ना २ सन्तानको जन्मदर्ता बनाउन जाँदा वडाध्यक्ष र कम्प्युटर अपरेटरले रु १० हजार माग गरेका छन् । आफू गरिब रहेको र त्यति रकम दिन नसक्ने भनेपछि उनीले पनि आफ्ना सन्तानको जन्मदर्ता बनाउन पाएका छैनन् । ‘जन्मदर्ता बनाउनका लागि पटक–पटक वडा कार्यालय पुगे, तर बनाउन पाउन सकिएन्’ , उनले भने, ‘कतिपटक जन्मदर्ता बनाउन भनेर गएँ । रु १० हजार नल्याए जन्मदर्ता बनाउन सकिँदैन् वडाध्यक्ष महतो भन्छन्  ।’ उनले गाउँमै ३६ प्रतिशत व्याजदरमा ऋण लिएर कम्प्युटर अपरेटर ऐबुललाई रु १० हजार दिएपछि बल्ल जन्मदर्ता बनाएको दावी गरे ।

त्यस्तै स्थानीयवासी उर्मिला यादवले आफ्ना बालबालिकाको जन्मदर्ता बनाएवापत वडाध्यक्ष र कम्प्युटर अपरेटरलाई रु ५ हजार दिएको आरोप लगाएकी छिन् । त्यसैगरी स्थानीयवासी भानु यादवले आफ्नी बोल्न नसक्ने पत्नीको विवाह दर्ता र आफ्ना ३ सन्तानको जन्मदर्ता बनाउन वडा कार्यालय पुग्दा वडाध्यक्ष र कम्प्युटर अपरेटरले रु १० हजार मागेको आरोप लगाइन् । आफू दैनिक ज्यालादारी र मजदुरी गरेर खाने मान्छे रहेको र आफूसँग त्यति पैसा नरहेको भनी पटकपटक आग्रह गरे पनि विवाहदर्ता र जन्मदर्ता बनाउन पाएनन् । उनीले पैसा नभएकै कारण विगत १ वर्षदेखि पटकपटक वडा कार्यालयमा जाँदा पनि विवाह दर्ता र जन्मदर्ता बनाउन नसकेको गुनासो गरिन् ।

यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन् । सो वडामा जो कोहीको जुनसुकै कामका लागि पनि अनियमित रुपमा पैसा नदिएसम्म कुनै पनि काम नहुने गरेको स्थानीयवासीको आरोप छ । वडाध्यक्ष महतो र कम्प्युटर अपरेटर राइनविरुद्ध स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा उजुरी दर्ता गराएपछि गत असोज २४ गते साँझ आयोगको टोलीले वडाध्यक्ष महतोलाई रु १० हजार घूससहित पक्राउ गरेको छ ।

आयोगबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिगएको टोलीले वडाध्यक्ष महतोलाई रु १० हजार घूस लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोग बर्दिबासका प्रवक्ता कमलकुमार अधिकारीले बताए । वडाध्यक्ष महतोले एक सेवाग्राहीको जन्मदर्ता बनाई दिन रु १० हजार घूस मागेको र सोही घूसको रकम लिँदै गर्दा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो । यसरी सरकारी नियम र निर्देशनको धज्जी उडाउँदै मटिहानी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले जन्मदर्तासहित अन्य दर्ता प्रमाणपत्र बनाएबापत बढीभन्दा बढी रकम असुल्ने गरेको पाइएको छ ।

नगरपालिकाका अधिकांश वडा कार्यालयले जन्मदर्ता, विवाहदर्ता, मुत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता लगायत प्रमाणपत्रहरु बनाउन आउनेसँग रु ५ सयदेखि रु १० हजारसम्म असुली गर्ने गरेको स्थानीयवासीको आरोप छ । दैनिकरूपमा दर्ता हुन आउने यस्ता प्रमाणपत्र बनाएवापत उनीहरुले हजारौं अनियमितता गरिरहेको स्थानीयवासीको गुनासो छ । जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्तालगायत सामाजिक परम्परागत दर्ता ३५ दिनभित्र निःशुल्क दर्ता गर्ने प्रावधान छ । त्यसपछि रु ५० जरिवाना गरी दर्ता गर्ने सरकारी प्रावधान छ । जरिवाना तिरेपश्चात स्थानीय तहले अनिवार्यरूपमा रसिद उपलब्ध गराउनुपर्छ तर रसिद पनि नदिने गरेको स्थानीयवासीको भनाइ छ ।

जन्मदर्ता नभएकै कारण कतिपय बालबालिकाले सरकारबाट पाउने सेवासुविधा र अन्य अधिकारबाट बञ्चित हुनुपरेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.