www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण आधार शिविरको यात्रा अवधि छोटियोः अब ४ दिनको बाटो २ दिनमा पूरा

म्याग्दी

म्याग्दी स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि ३ दिनको यात्रा अवधि छोटिएको हो । नारच्याङको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले ४ दिनको यात्रा अब २ दिनमा छोटिएको जानकारी दिएका छन् ।

‘नारच्याङबाट छोटेपा र छोटेपाबाट हुमखोला २ दिन हिँड्नुपर्ने बाटो अहिले गाडीमा २ घण्टामा पार गर्न सकिन्छ’, उनले भने, ‘सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा २ दिनमा अन्नपूर्ण आधार शिविर पुग्न सकिने भएको छ ।’ अन्नपूर्ण हिमालको आधार शिविर छोटो दूरीको पैदलयात्रामा पुग्न सकिने सम्भवतः नेपालको पहिलो आधार शिविर भएको पुर्जाले बताए । विसं २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’ पदमार्गको पहिचान गरेका थिए ।

Batas

पर्यटन विभागले रु २ करोड ५० लाखभन्दा बढीको लागतमा गत आर्थिक वर्षमा हुमखोलाबाट आधार शिविर जोड्ने पदमार्गको स्तरोन्नति गरेको छ । यात्राअवधि छोटिएपछि अन्नपूर्ण आधार शिविरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताएका छन् ।

निलगिरीखोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत् आयोजनाले अक्करे पहाडमा विस्फोटक पदार्थको प्रयोग गरेर बनाएको दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँचमार्गले पर्यटक र स्थानीयवासीलाई समेत सुविधा पुगेको छ । यस कम्पनीले सोही ठाउँमा अर्को ७१ मेगावाट क्षमताको निलगिरी क्यासकेड जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । आयोजनाका इञ्जीनियर केशव वाग्लेले अधिकांश ठाउँमा विस्फोटक पदार्थको प्रयोग गरी अक्करे पहाड फुटाएर सडक निर्माण भएको बताए ।

‘समग्रमा ५ प्रतिशत भौतिक प्रगति भएको निलगिरी पहिलोको २ हजार २०० मिटरमध्ये १०० मिटर सुरुङ निर्माण सकिएको छ’, उनले भने, ‘निलगिरी क्यासकेडको बाँध र पहिलाको विद्युत्गृह निर्माण भइरहेको छोटेपामा ३० मिटर लामो बेलिब्रिज बनाएका छौँ ।’ १० प्रतिशत प्रगति भएको निलगिरी क्यासकेडको ४ हजार २०० मिटरमध्ये ४ वटा अडितबाट २ हजार २०० मिटर सुरुङ खनिएको निलगिरी हाइड्रोपावरका साइट कार्यालयका प्रमुख रतन बमजनले बताए । निलगिरी क्यासकेडको दोभिल्नामा विद्युत्गृह निर्माण सुरु भएको छ ।

रु १३ अर्ब लागत अनुमान गरिएको सन् २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना निर्माणमा करिब १ हजार मजदुर परिचालन भएका छन् । निलगिरी पहिलाको विद्युत्गृहबाट निस्कने पानी नजिकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ । छोटेपा–दोबिल्ना हुँदै दाना सबस्टेशन जोड्ने ७.४ किलोमिटर दूरीको २ सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणको तयारी गरेको छ । दुवै आयोजना रन अफ द रिभर प्रकृतिका हुन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.