www.tandavnews.com
Fact ~ In search of truth

पुरानै लयमा फर्कंदै अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय

गण्डकी

कोरोना महामारीका कारण लामो समयसम्म प्रभावित पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । महामारी क्रमशः कम हुँदै गएको र सर्वसाधारणका लागि प्रवेश टिकट खुल्ला गरेपछि अध्ययन अवलोकन गर्ने पर्यटकको संख्यामा क्रमशः वृद्धि हुँदै गएसँगै पुरानैलयमा फर्कंने संकेत मिलेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि लामो समयदेखि बन्द संग्रहालय यही भदौ महिनाको २३ गतेदेखि खुल्ला गरिएको संग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताइन् ।

नेपाल पर्वतारोहण संघको ४८ औँ स्थापना दिवसका अवसरमा संग्रहालयमा आयोजित कार्यक्रममा उनले भदौ महिनाको ९ दिनमा ५ जना विदेशी, ५१ जना सार्क, ४५५ नेपाली, ७२ विद्यार्थी र ३७ जनाले गार्डेन गरी ६२० जना टिकट काटेर अवलोकन गर्दा ६४ हजार ९०० आम्दानी भएको जानकारी दिए ।

Batas

त्यस्तै असोज महिनामा कूल १११ जना विदेशीले टिकट काट्दा ५५ हजार ५०० आम्दानी भएको बताउँदै उनले उक्त महिनामा कूल ५ लाख २९ हजार ७६० आम्दानी भएको जानकारी दिइन् । कात्तिकको ११ गते एकै दिनमा २७ जना विदेशी पर्यटकले अवलोकनका लागि रु १३ हजार ५०० को टिकट काटेको बताउँदै निर्देशक न्यौपानेले यस महिनाको १४ गते आइतबारसम्म १२८ विदेशी, ३०५ सार्क, ३ हजार ३८५ नेपाली, १ हजार ५१४ विद्यार्थी र ५४ जनाले टिकट काट्दा १४ दिनको अवधिमा ५ लाख ४६ हजार ७० रुपैयाँ आम्दानी भएको जानकारी दिइन् ।

‘संग्रहालय सञ्चालनमा आएसँगै क्रमिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा वृद्धि हुँदै आएको छ’, उनले भने, ‘यस्तै क्रममा टिकट बिक्री दर बढ्ने हो भने संग्रहालय पुनःपुरानो लयमा फर्कंने संकेत देखिएको छ ।’ विश्वका ८ हजारभन्दा बढी मिटर उचाई भएका १४, ७ हजार ५०० देखि ७ हजार ९९९ सम्मका ४०, ६ हजारदेखि ६ हजार ९९९ सम्मका ६०३ सहित १ हजार ९१३ वटा हिमचुचुरामा हालसम्म भए गरेका गतिविधि र त्यस क्षेत्रमा बसोबास गर्ने हिमालीका बारेमा विस्तृत जानकारी लिन सकिने उनको भनाइ छ ।

पोखरा महानगरपालिका– १७ रातोपैह्रामा नेपाल पर्वतारोहण संघले खरिद गरेको एकसय रोपनी जग्गामध्ये साँढे ६ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय भवनभित्र विभिन्न ४ वटा कक्ष अन्तर्गत १२ उपकक्षमा हिमाल र तिनका गतिविधि प्रदर्शन गरिएको छ । यसमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार भन्दा बढी उचाइका ८ वटा हिमाल नेपालमा पर्दछन् ।

संग्रहालयको पर्वतीय मानव कक्षमा हिमालीको सामाजिक, सांस्कृतिक, धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने सामग्री, विश्वका पर्वत शृ्ङ्खलाको उत्पत्ति, भौगर्भिक महत्व, वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शन गरिएको संग्रहायलय सञ्चालक समितिका सदस्य हरिप्रसाद लामिछानेले जानकारी दिए ।

उनका अनुसार सो कक्षमा विश्वका पर्वत शृंखलामा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको छ । विश्वका हिमाल र हिमाली क्षेत्रकोबारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि उपयुक्त थलोको रुपमा लिइएको संग्रहालय परिसरमा निर्माण गरिएको मनास्लु हिमालको नमूना र प्रवेशद्धार अगाडि निर्मित पहेँलो धातु ढलोटबाट निर्मित याकको मूर्ति अवलोकनकर्ताको लागि थप आकर्षण बनेको छ जुन अहिले टिकटक बनाउने, फोटो खिच्नेको बाक्लै सहभागिता देखिने गरेको छ । कोरोनाको कारण बन्द भएको अवस्थामा संग्रहालयको कम्पाउण्डवाल, गार्ड घर तथा बोटानिकल गार्डेन निर्माण गरिएको छ । उक्त निर्माणका लागि रु २ करोडभन्दा बढी खर्च भएको संग्रहालय सञ्चालक समितिका सदस्य रञ्जितकारले जानकारी दिए ।

नेपाल पर्वतारोहण संघको स्थापना दिवस

नेपाल पर्वतारोहण संघको ४८ औँ स्थापना दिवसका अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरियो । संघका केन्द्रीय सल्लाहकार हरिध्वज तुलाचनले झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गर्दै हिमाल र हिमालीका बारेमा एउटै थलोबाट सम्पूर्ण जानकारी लिन सकिने संग्रहालय पर्यटकीय नगरी पोखराको गहना भएको बताए । उनले यसको विकाससँगै प्रचारप्रसारमा पोख्रेलीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल पर्वतारोहण संघ अन्नपूर्ण शाखाका गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले हिमाल आरोहण गतिविधिमा संलग्न महानुभावको सक्रियतामा झण्डै ५ दशकअघि स्थापना भएको संघद्वारा निर्माण गरी सञ्चालन गरिएको पर्वतीय संग्रग्रहालय एशियामै पहिलो भएको दाबी गरे ।

सो अवसरमा संग्रहालय परिसरमा निर्मित खड्गविक्रम शाह, डा. हर्क गुरुङ र संघका पूर्वअध्यक्ष दावानोर्वु शेर्पाको अर्धकदको शालिकमा माल्यार्पण गरिएको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.