www.tandavnews.com
Fact ~ In search of truth

चालक अनुमतिपत्रका लागि आवेदन दिन ३ सातामा ४ लाख

काठमाडौँ

लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको संख्या ३ सातामा नै झण्डै ४ लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो ।

२ वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । कात्तिकभन्दा पहिलेसम्म झण्डै २ लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो संख्या झण्डै ६ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए ।

Batas

कोभिड संक्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमितरुपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिकरुपमा नयाँँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता डा. भुसालले बताए ।

कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनःखुलाइएको भए पनि बीचमा झण्डै ४ दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताए ।

गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो । सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ । उनले भने, “अहिले अपडेट गरेपछि फारम बुझाउन सकिएन भन्ने गुनासो छैन ।”

विसं २०७६ चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागू गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो । गत वर्ष माघमा सङ्क्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि सङ्क्रमण पुनःबढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमितरुपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.