www.tandavnews.com
Fact ~ In search of truth

बेँसीशहर-चामे सडकमा मर्मतको काम अघि बढाइयो

सञ्चिता घिमिरे
काठमाडौँ, रासस ।

यस वर्ष वर्षाका कारण सबैभन्दा बढी क्षति पुगेको बेँसीशहर–चामे सडकमा मर्मतको काम अघि बढाइएको छ । दसैँ पहिले नै सवारीसाधन चल्नसक्ने गरी मर्मत गरिएकामा अहिले आगामी वर्षमा सडक अवरुद्ध नहोस् भनी दीर्घकालीन रुपमा मर्मत भइरहेको छ ।

धेरै ठाउँमा सडक नै बगाएकाले तलबाट जाली बनाएर हालिएको डुम्रे–बेँसीशहर–चामे सडक योजनाले जनाएको छ । सडकमा यसअघि नै पुनःस्थापना गरिएको थियो । आगामी वर्षमा पनि वर्षाको पानीले नबगाउने गरी स्थायी मर्मत गरिने तयारी भइरहेको योजनाका प्रमुख अच्युतविलास पन्तले बताए । उनले भने, “सडकमा ढलान गर्ने, नाली बनाउने, पानी कटाउने कामका लागि छिट्टै ठेक्का प्रक्रियामा जानुपर्छ ।”

Batas

वर्षाले त्यहाँका केही सङ्ख्यामा काठ र एउटा पक्की पुल बगाएको छ । ती ठाउँमा अहिले काठका पुल राखेर यातायात सञ्चालन भइरहेको छ । पुल नहुँदा नै सडक अवरुद्ध भएकामा मर्मत गरेर सञ्चालन भएको प्रमुख पन्तले बताए । सडक दीर्घकालका लागि लागत अनुमान गरेर विभागमा पठाइएको उनले बताए । उनले भने, “सडक निर्माणकै लागि छिट्टै ठेक्कामा जाने योजना छ ।”

सडक बगाएको वा पुरिएका स्थानमा पनि आसिंक रुपमा खुलाइएको योजनाका प्रमुख पन्तले बताए । झण्डै १० किमी सडक र अरु विभिन्न ठाउँमा सडक बगाएको थियो । सडक मर्मतका लागि ठूलो रकम आवश्यक भए पनि एकै पटक व्यवस्थापन हुन नसक्ने हुँदा प्राथमिकताका आधारमा मर्मत गरिने उनले बताए ।

उनले भने, “भएको बजेटबाट जोखिमयुक्त स्थानलाई प्राथमिकतामा पारेर मर्मत गरिनेछ ।” जेठको अन्तिम सातादेखि नै सुरु भएको वर्षाका कारण सडकमा धेरै क्षति पुगेको थियो । दसैँ पहिले अस्थायी रुपमा सडक खुलाइएको भए पनि पुनःकात्तिकमा भएको वर्षाले सडक अवरुद्ध गरेको थियो । दसैँपछि थप क्षति पुगेको स्थानमा पनि मर्मत र सुधार गरिएको प्रमुख पन्तले बताए ।

ट्याक मात्रै खोलिएको सडक भएकाले पनि सडकमा ठूलो क्षति भएको प्रमुख पन्तले जानकारी दिए । लामो समय पहिलेदेखि नै सो सडकको ट्र्याक सेनाले खुलाएको थियो । ट्याक खुलेपछि लामो समयसम्म सडक स्तरोन्नति हुन सकिरहेको छैन । डुम्रे–बेँसीशहर खण्ड एक लेनको कालेपत्र भएको हो भने बेँसीशहर–चामे सडकमा कालोपत्र भएको छैन । सडक विभागले डुम्रे–बेँसीशहर सडकलाई विस्तार गर्ने र बेँसीशहर–चामे सडकलाई स्तरोन्नतिको योजना बनाएको छ ।

बेँसीशहरबाट चामेसम्म ६५ किमी सडक कच्ची छ । बँेसीशहरबाट अगाडि सात किमी सडक मात्रै कालोपत्रका लागि ठेक्का भएको थियो । यो खण्ड बेँसीशहरबाट खुदिसम्म पर्छ । यो खण्डमा निर्माणको काम भइरहेको छ ।

बेँसीशहर–चामे कूल लम्बाइ ६५ किमीमध्ये अहिले २० किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । त्योमध्ये पनि सात किमीमा मात्रै निर्माण अघि बढाइएको छ । बाँकी सडक भने अध्ययनको क्रममा छ । सो सडकमा यस वर्ष असारभित्र अध्ययन सकाउने योजना बनाइएको छ । प्रमुख पन्तले भने, “यस वर्ष अध्ययन सकिएपछि अर्काे वर्षबाट बहुवर्षीय ठेक्का लगाएर निर्माण अघि बढाइनेछ ।”

बेँसीशहर–चामे सडकमा लमजुङतर्फ ३५ किमी र मनाङतर्फ ३० किमीपर्छ । यो सडक नै मनाङ जिल्लालाई प्रदेश राजधानी र सङ्घीय राजधानीसँग जोड्ने सडकका रुपमा रहेको छ । मनाङमा ठाउँठाउँमा काठका पुल मात्रै भएकाले हलुका सवारीसाधन मात्रै चल्ने गरेको योजना प्रमुख पन्तले जानकारी दिए।

हिमाल पारिको जिल्लाका रुपमा परिचित मनाङ सडक सञ्जालमा जोडिए पनि सधैँ सवारीसाधन भने चल्न सक्दैनन् । जाडो मौसममा हिउँका कारण र वर्षामा बाढी तथा पहिराका कारण सडक अवरुद्ध भइरहेको छ ।
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.