www.tandavnews.com
Fact ~ In search of truth

तल्लो मोदी जलविद्युत् आयोजना ३ महिनापछि सुचारु

पर्वत

पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन झण्डै ३ महिनापछि सुचारु भएको छ ।

गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको थियो । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित १० मेगावाट क्षमताको यो आयोजनामा ठूलो क्षति पुगेका कारण मर्मत गर्न लामो समय लागेको हो । प्राविधिक र आयोजनाका कर्मचारीको निरन्तरको प्रयासपछि गत शुक्रबारदेखि उत्पादन सुचारु गरिएको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए ।

Batas

आयोजनाभन्दा माथिबाट आएको पहिरोले ठूलो क्षति पुर्याएपछि तत्काल मर्मत गर्न नसकिएको हो । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको थियो । विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो । उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सवस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको ४ नम्बर टावरसमेत पहिरोले ढालेको थियो । टावर ढलेसँगै तल्लो मोदी– १ को विद्युत्गृहमा पठाउने पानीको नहरको ५०० मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करिब एक किलोमिटर क्षेत्र क्षतविक्षत बनाएको थियो । त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिरोले ढालेको थियो ।

निर्देशक गौतमका अनुसार बाढी र पहिराका कारण मात्र रु ५ करोडभन्दा बढी क्षति भएको छ । त्यसैगरी अहिलेसम्म विद्युत् उत्पादन नहुँदा थप रु दुई करोड आम्दानीसमेत घटेको उनले बताए । आयोजनाको मर्मत पूर्णरुपमा अझै नसकिएको उनको भनाइ छ । यसअघि पनि जेठ ३१ गते राति सुन्दरेखोलामा आएको बाढीले नहर पुरिँदा झण्डै एक महिनापछि आयोजना सुचारु भएको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.