www.tandavnews.com
Fact ~ In search of truth

बल्ल तंग्रिदैछ शताब्दी पुरानो संस्कृत विद्यालय

जीवन सुवेदी
पाेखरा, ताण्डव न्यूज ।

विसं १९५८ देखि पोखरामा स्थापित संस्कृत माध्यमिक विद्यालय लामो समयदेखि गुमनाम जस्तै बन्यो । विसं २०२८ सालमा नयाँ शिक्षा नीति लागु भएसंगै संस्कृतमा ह्रास आउन थाल्यो ।

देशमा आएका राजनीतिक परिवर्तन संगै संस्कृत भाषाको शिक्षालाई कमजोर बनाईयो । विश्वकै उत्कृष्ठ भाषा भएर पनि ओझेलमा पार्ने काम हुँदै गयो । माओवादी द्वन्द्वको समयमा संस्कृतलाई विस्थापित गर्ने अभियान नै चल्यो । राजनीतिका कारण विद्यालय तहमा संस्कृत पढाउन बन्द भयो । त्यसैको मारमा परेको संस्कृत मावि अहिले भने विस्तारै पुनः जुर्मुराएको छ । विद्यार्थी संख्या शून्य जस्तै भैसकेको उक्त विद्यालयमा हाल व्यवस्थापन समितिको प्रयासमा पुर्नजीवन प्राप्त गरेको छ । २०७४ सालपछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका व्यवसायी एवं समाजसेवी गणेशबहादुर थापाको पहलमा विद्यालयले काँचुली फेर्दैछ ।

Batas

पोखरा महानगरपालिका वडा नं १ बगरस्थित भीमकालीपाटनमा अवस्थित उक्त विद्यालयमा हाल २ सय ५ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ४८ छात्रा र बाँकी छात्र रहेको विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद सिग्देलले बताए । विद्यालयको कक्षा ११ मा ३५ र कक्षा १२ मा ३५ गरी ७० जना छन् भने विद्यालय परिसरमै सञ्चालित गुरुकुलमा ५० जना छात्र अध्ययनरत रहेको प्रधानाध्यापक सिग्देलले बताए ।

‘विद्यालय लगभग खारेज हुने अवस्थामा पुगिसकेको थियो, हामीले गुरुकुल पनि सुरुवात ग¥यौं विद्यार्थीहरुलाई निशूल्क पोसाक, खाजा र आवासको समेत व्यवस्था गरेपछि विस्तारै विद्यार्थीहरुको आकर्षण बढ्न थाल्यो’ उनले भने ‘व्यवस्थापन समितिमा नयाँ नेतृत्व आएसँगै शिक्षक र विद्यार्थीमा पनि आशा जागेको छ ।’ विद्यालयमा हाल २२ जना शिक्षक शिक्षिकाले अध्यापन गर्छन् ।

जुम्लादेखि पढाईका लागि पोखरा आएका विद्यार्थी दिपेन्द्रप्रसाद उपाध्यायले विद्यालयको पठनपाठनबाट पढाईबाट आफू निकै सन्तुष्ट रहेको बताए । संस्कृत भाषा पढेर आफु शिक्षक बन्ने उनको ठूलो रहर छ ।

विद्यालयलाई समुदायस्तरबाटै सुधार गर्ने अभियान अन्तरगत व्यवस्थापन समितिले अभियान थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश थापा बताउँछन् । हामीले विभिन्न चन्दादाताहरुसंग सहयोग लिएर विद्यालयमा मन्दिर निर्माण र विद्यार्थीहरुलाई खाजा तथा पोसाकसमेत उपलब्ध गराईरहेका छौं उनले भने ‘करिब १ करोड रुपैयाँको अक्षयकोष बनाउने अभियान समेत चलाईरहेका छौं ।’

विद्यालय हातामा अहिले शिव पाञ्चायान मन्दिर निर्माणाधिन अवस्थामा छ । करिब १ करोडको लागतमा निर्माण गर्ने लक्ष्य राखिएको उक्त मन्दिरको आधा काम अझै बाँकी रहेको उपभोक्ता समितिका अध्यक्ष समेत रहेका थापाले बताए । ‘हामीलाई स्वर्गीय रविन्द्र अधिकारीको पालामा पर्यटन मन्त्रालयबाट १४ लाख २३ हजार रुपैयाँ प्राप्त भएको थियो, धार्मिक व्यक्तित्व (नाम खुलाउन नचाहने व्यक्ति)बाट रु १० लाख रुपैयाँ प्राप्त ग¥यौं’ उनले भने, ‘आफ्नै तर्फबाट रु ६ लाख सहयोग गरेको छु, गण्डकी प्रदेश सरकारबाट ४ लाख ९२ हजार ५९८ रुपैयाँ प्राप्त गरेका छौं ।’ अब करिब २० लाख रुपैयाँ मन्दिरका लागि आवश्यक रहेको उनले बताए ।

विद्यालयमा सञ्चालित गुरुकुल सञ्चालनका लागि मन्दिरको आम्दानी प्रयोग गर्ने उद्धेश्यसहित विद्यालय परिसरमा मन्दिर निर्माण थालिएको थापाले बताए । पछि विद्यालय हातामै विवाह मण्डप र यज्ञशाला समेत निर्माण गर्ने योजना उनले सुनाए ।

संस्कृत भाषाको संरक्षण र बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै विद्यालयको महत्व बुझाउन व्यवस्थापन समिति लागि परेको उनको भनाई छ ।

विश्वभर संस्कृत भाषाको महत्व बढ्दै गएकाले नेपालमा संस्कृत शिक्षालाई नजिकको तिर्थ हेला जस्तो गरिएको विद्यालयका शिक्षक श्रीकान्त सापकोटाले बताए । ‘जर्मनीका धेरै विश्वविद्यालयहरूमा समेत संस्कृत पढाइ हुन्छ । त्यहाँ संस्कृतको गहन अध्ययन र अनुसन्धान भइरहेको छ । पश्चिमा देशहरूले गीता र वेदको अध्ययन र अनुसन्धान गर्न करोडौँ खर्च गर्न थालेका छन् । तर, नेपालमा सित्तैमा पढाइ हुँदा पनि संस्कृतको सम्मान हुन सकेको छैन नजिकको तिर्थ हेला भनेजस्तै भएको छ’ उनले भने ‘संस्कृतका प्राध्यापक विद्वानहरू पनि संस्कृत भाषाको अध्ययन र अनुसन्धानमा भन्दा राजनीतिमा लिप्त हुन लागे । जसका कारण संस्कृतको अनुसन्धानमा क्रमशः खडेरी पर्दै गयो । अब फेरि संस्कृतको अध्ययन र अनुसन्धानमा यस विद्यालयले पुनर्जागरण ल्याउने पहल गरिरहेको छ ।’

संस्कृत देवनागरी लिपिमा लेखिएको पुरानो भाषा हो । संस्कृत भाषा मुख्यतः दुई भागमा विभक्त छ । एउटा वेदमा बोलिने वैदिक संस्कृत हुन्छ भने अर्को लौकिक संस्कृत हुन्छ । वैदिक संस्कृतपछि लौकिक संस्कृत भाषाको जन्म भएको हो । संस्कृत भाषाका कठोर नियमलाई पाणिनीय व्याकरणले सूत्रबद्ध गरेको छ जुन ४ हजार सूत्रमा समेटिएको छ । संस्कृत बोल्दा र लेख्दा एउटै संरचना हुन्छ । वैदिक संस्कृत,लौकिक संस्कृत, प्राकृत भाषाहरूहुँदै आधुनिक आर्यभाषाहरू जन्मिए । आधुनिक आर्य भाषाभित्र नेपाली, हिन्दी, मैथिली, भोजपुरी आदि भाषाहरूको उदय भएको हो ।

नेपालमा बोलिने भारतेली परिवारका जति पनि भाषा छन्, ती सबै भाषाको मूल भाषा संस्कृत नै हो । संस्कृतबाट प्राकृत हुँदै जुम्लाको सिन्जा प्रान्तबाट विकसित नेपाली भाषामा मात्र होइन नेपालका अरु भाषाको शब्दभण्डारमा पनि १० देखि २० प्रतिशतसम्म शब्द संस्कृतकै बाहुल्य छ । त्यसैले नेपालमा बोलिने धेरैजसो भाषालाई संस्कृतले अप्रत्यक्ष रूपमा प्राणसञ्चार गर्दै आएको छ । तर संस्कृत भाषालाई बाहुनको मात्र भाषा हो भनेर भनिन्छ । त्यो गलत हो ।

सबै मातृभाषालाई समृद्ध बनाउन संस्कृत नै आवश्यक छ । धेरैजसो मातृभाषाको लिपि निर्धारण भएको छैन । लिपि निर्धारण गर्न पनि संस्कृत नै आवश्यक पर्छ । २०६८ को जनगणनाअनुसार नेपालका १ सय २५ जातजातिका १ सय २३ भाषाहरूको संरक्षण गर्ने मूल भाषा पनि यही हो ।

वेद, पुराण आदि मात्र होइननेपालको प्राचीन इतिहास पनि संस्कृतमै लेखिएको छ । त्यसैले नेपालको इतिहास बुझ्न र पुराना अभिलेख खोज्न पनि संस्कृत नै चाहिन्छ । राष्ट्रिय अभिलेखालयमा रहेका ३० हजारभन्दा बढी पाण्डुलिपिहरूको अध्ययन र अनुसन्धान गर्न पनि संस्कृत नै बुझ्नुपर्ने हुन्छ । विश्वभर संस्कृत शिक्षाप्रति मोह बढ्दै जाँदा पोखराको एकमात्र संस्कृत विद्यालयलाई जोगाई राख्न सके भाषाको प्रर्वद्धन र विकाशमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.